संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बुले एक महिलामाथि निर्घात कुटपिट गरेका छन् । बिजुलीको तार टाँग्ने विषयमा विवाद हुँदा अध्यक्ष लिम्बुले सोही पालिका वडा नम्बर ३ घर भएर हाल वडा नम्बर ६ नयाँबस्ती टोल बस्दै आएकी २९ वर्षीया सोमकुमारी राईलाई निर्घात कुटपिट गरेका हुन् ।
आफूलाई कुटपिट गर्ने गाउँपालिका अध्यक्ष लिम्बुविरुद्ध जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी लिएको तर दर्ता नगरेको पीडित महिलाले बताएकी छन् । गाउँपालिका अध्यक्ष लिम्बुले तार टाँग्ने विषयमा विवाद हुँदा महिलालाई दाउरा जस्तो देखिने वस्तु लिएर निर्घात कुटपिट गरेको बताइएको छ । उनले पीडित महिलालाई किन हतियार लिएर आएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
पीडित महिलाले भनिन्, ‘टोल विकास संस्थाका दाईहरु आएर खोलाको सुरक्षाको लागि भनेर बिजुलीको पोल गाड्ने भन्नुभयो, उहाँहरुले अन्त कतै पोल गाड्ने ठाउँ भेटिएन भन्नु भयो । म बजार गइहालेँ, मेरो श्रीमानले दिनु भएनछ । म आएपछि हुन्छ भनेँ । त्यसपछि उहाँहरु पोल गाडेर जानु भएछ । म बजारबाट आउँदा श्रीमानले यहाँ हुँदैन, बलेसीमै पोल राख्दा दुर्घटना हुन्छ भन्नु भयो, त्यसपछि गाउँपालिका अध्यक्ष प्राविधिकसहित आएर तार टाँग्ने गर्नु भयो, अनि मैले तर्काएर लगिदिनु भन्दा अध्यक्षले ममाथि कुटपिट गर्नु भयो ।’
आफूलाई हात हाल्दै घरभित्र लगेर कुटपिट गर्न थालेपछि यसो नगर्नु भन्दा ‘तँलाई टिपेर खोलामा फालिदिन्छु, धनीपुर्जा निकाल’ भन्दै कुटपिट गरेको उनले बताइन् । आफूलाई मार्ने नियतले कुटपिट गरेकाले आफूले न्याय पाउनु पर्ने र उजुरी दर्ता नभएसम्म कुनै छलफलमा नबस्ने उनले बताइन् ।
गाउँपालिका अध्यक्ष लिम्बुले आफूले ती महिलालाई कुटपिट गरेको कुरा भ्रामक भएको बताए । ‘एउटा सामाजिक काम गर्ने क्रममा सडक बत्ती तथा खोलामा माछा समरक्षक क्षेत्रमा बत्ती बाल्न पूर्वसहमतिअनुसार नै तार टाँग्ने काम भएको थियो, त्यस विषयमा वादविवाद भएको र समन्वय गर्न जाँदा उल्टै ममाथि तीन वटा हतियारबाट सांघातिक आक्रमण भयो । त्यसपछि मैले हतियार खोसेको हो, त्यही हतियारको भिडियो क्लिप हालेर मलाई बदनाम गराइयो,’ उनले भने ।
उनले आफूलाई फसाउन सुनियोजित रुपमा भिडियो खिचेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया