हुण्डीको झण्डै १५ लाख रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक शौचालय जाने बहानामा फरार

सशस्त्र प्रहरीको चरम लापरबाही, पुनः समात्न सीमा नाकामा कडाइ

लोकपथ
119
Shares

जनकपुर । हुण्डी कारोबारको झण्डै १५ लाख नेपाली रुपैयाँसहित बिहीबार पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् । फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनी भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया निवासी हुन् ।

उनी फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरबाही देखिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट १४ लाख ८० हजार नेपाली रुपैयाँ र उनी चढेको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो । बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएकोे सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो ।

सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहीबार नै गौरस्थित भन्सार कार्यालय लगेको थियो । त्यही बेला उनी पिसाब फेर्ने बहाना बनाएर भागेको स्रोतको भनाइ छ ।

उनी भागेको घटनालाई सशस्त्र प्रहरीले आधिकारिक रुपमा बाहिर ल्याएको छैन । उनलाई पुनः समात्न सीमा नाकामा कडाइ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले भने घटनाबारे थाहा नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?