माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्टकै पुनरागमन

१८ महिनामा तीनपटक संसदीय दलको नेता परिवर्तन

लोकपथ
77
Shares

काठमाडाैं । साढे चार महिनाअघि संसदीय दलको नेताबाट हटाइएका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्ट पुनः दलको नेता बन्ने भएका छन् । माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि उनी पुनः प्रदेश संसदीय दलको नेता बन्ने लागेका हुन् ।

गत माघको दोस्रो साता संसदीय दलको बहुमतले नेताबाट हटाइएका भट्टलाई गत फागुनमा प्रदेश इन्चार्जबाट समेत बिदा दिइएको थियो । गत माघ दोस्रो साता प्रदेश संसदीय दलको बहुमतबाट भट्टलाई हटाएर दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीलाई दलको नेता चयन गरिएको थियो ।

मंगलबार माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माओवादीका सुदूरपश्चिम प्रदेशसभा सदस्यसँग काठमाडौंमा गरेको बैठकमा भट्टलाई दल नेतामा पुनस्र्थापित गर्न निर्देशन दिएको प्रदेशसभा सदस्य रमेशसिंह धामीले जानकारी दिए । ‘अध्यक्षको निर्देशन आएको छ, अब उहाँ (खगराज) नै संसदीय दलको नेता बन्नुहुन्छ,’ पर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद रमेशसिंहले भने, ‘विगतमा के भए भन्ने कुराको अब कुनै अर्थ छैन ।’

अध्यक्ष प्रचण्डले हाल प्रदेश सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीनै जना मन्त्रीलाई यथावत् राख्न पनि निर्देशन दिएको उनले बताए । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट अक्कलबहादुर रावल, ओमविक्रम भाट र लक्ष्मी विक बिनाविभागीय मन्त्री रहेका छन् ।

माओवादी केन्द्रबाट रावल, भाट र विक मन्त्री नियुक्त भएपछि प्रदेशसभा सदस्य भट्ट तथा पूर्वमन्त्री झपटबहादुर साउद र रमेशसिंह, शिवसिंह ओली र जानकी कुँवर पौडेलले विरोध गर्दै मुख्यमन्त्रीलाई लिखित पत्र नै बुझाएका थिए । माओवादी केन्द्र प्रदेश संसदीय दलमा १८ महिनामा दुईपटक संसदीय दलको नेता परिवर्तन भइसकेका छन् भने तेस्रोपटक परिवर्तन हुँदै छ । यससँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलमा शक्ति सन्तुलनमा पनि फेरबदल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?