लाइफ कम्प्युटरले छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै

लोकपथ
49
Shares

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल लाइफ कम्प्युटरले एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको छ । ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ । संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रीत छन् । ‘वेबसाइट कम्पिटिसन’ पनि यसकै प्रयास हो,’ अध्यक्ष पोखरेलले भने ।

स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको भन्दै अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका आत्मसात गरी वेबसाइट कम्पिटिसनको अवधारणा ल्याइएको हो ।

‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स (एआई)को हो । विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा हामीले जोड दिँदै आएका छौं,’ उनले भने, ‘विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ ।’

यसवर्ष देशभरका १ हजार १०२ जना प्रतियोगीले प्रतिस्पर्धामा भाग लिएको उनले बताए । प्रतियोगीहरूलाई जेठको अन्तिमसम्मको लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको उनको भनाइ छ । ‘विज्ञहरुको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ । उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो प्रतिष्पर्धी छानिने छ ।

विद्यार्थी स्वयमले बनाएको सुनिश्चित भएपछि मात्र उनीहरू थप प्रक्रियाको लागि योग्य हुने उनको भनाइ छ । उनले भने, ‘मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।’

बिगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै यसै क्षेत्रमा धेरै राम्रो काम गर्दै आएको उनले बताए । ‘हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाषा संस्थाले बोकेको छ । विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भएपनि भूमिका निर्वाह गर्ने हामीले उद्देश्य राखेका छौँ । लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहान्छ । राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिकोे ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ’ अध्यक्ष पोखरेलले भने ।

सहभागी छनोट गर्दा जतिसक्दो धेरै सहभागी गराउने उद्धेश्यले पहिले काठमाडौंमा मात्रै गरिएको यस्तो प्रतिष्पर्धा अहिले देशैभर गरिएको पोखरेलले बताए । यस सिजनमा १ हजार १०२ जना प्रतिस्पर्धी सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?