मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा चलाउने अख्तियारको निर्णय, आज मुद्दा दर्ताको तयारी

लोकपथ
700
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका मुख्यसचिव अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय भएको हो ।

अख्तियारको शुक्रबार बसेको बैठकले उनीमाथि मुद्धा चलाउने निर्णय गरेको हो । उनीविरुद्ध आज आइतबार नै विशेष अदालतमा मुद्धा दर्ता गरिने सम्भावना रहेको पनि स्रोतको दाबी छ ।

अख्तियारले चारवटा फरक फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राख्दै आएको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै अख्तियारले उनलाई आफ्नो भूमिकाबारे सोच्न पटक पटक सुझाव दिँदै आएको थियो । तर लामो समयसम्म पनि बेवास्ता गरेपछि अख्तियारले मुद्धा चलाउने निर्णय गरेको स्रोतको भनाइ छ ।

‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश प्रवाह हुने भयो, समग्र निजामती सेवाप्रति नै नकारात्मक धारणा बन्ने भएकाले हामीले सकेसम्म आफ्नो भूमिकाबारे विचार गर्नुहोस् भनेको हौं, तर मुख्यसचिवमा कुनै गाम्भीर्यता देखिएन,’ अख्तियार स्रोतले भन्यो ।

मुख्यसचिव अर्यालले केही महिनाअघि टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयानसमेत दिएका थिए । त्यतिबेला नै एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएको भन्दै निकास दिन अख्तियारका पदाधिकारीहरुले उनलाईसुझाव दिएका थिए । त्यतिबेलै प्रधानमन्त्री पुृष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत पनि उनलाई त्यो सन्देश प्रवाह गरिएको थियो ।

टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुख्यसचिव अर्याल र केही पूर्वमन्त्रीहरु जोडिँदै आएका छन् ।

अख्तियारले नै विशेष अदालतमा पेश गरेको कागजात अनुसार, राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको पहिलो चरणको कामकारवाहीमा मुद्दा दायर भए पनि दोस्रो चरणको खरिदको फाइलमा अनुसन्धान भइरहेको छ । दोस्रो लटको काममा तत्कालीन सञ्चार सचिवका हैसियतले अर्यालले केही निर्णयहरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?