यस्तो छ सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य योजना

लोकपथ
105
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरुको तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेका अनुसार, आवश्यक स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुका साथै देशभरका कार्यालयहरुमा डिजास्टर फोकल पर्सनहरु तोकी आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको छ ।
उनका अनुसार, देशभर स्थापना भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रहरु, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरुमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु खटिई आवश्यक समन्वय गर्नुका साथै विपदमा परेकाहरुको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा १ सय २० वटा मोटर बोट तथा ¥याफ्ट बोट तयारी अवस्थामा राखिएको छ ।

यस्तै, ९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरु तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, नं. २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको छ ।

यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरु, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरुमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरुमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौंमा तयारी अवस्थामा राखिएको उनले बताए ।

उनले भने, ‘विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ति गर्न अमेरिकी दूतावासद्वारा निर्मित डिप ट्युवेल काठमाडौको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा रहेको छ । त्यस्तै अमेरिकी दूतावासबाट प्राप्त डिजास्टर रिलिफ सिष्टम (डीआरएस) का २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा वितरण गरी तयारी हालतमा राखिएको छ भने ५ वटा कन्टेनर जाजरकोट भूकम्पमा प्रयोग गरी सकिएको छ ।’

देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा २४सै घण्टा स्टेण्डबाई रहने गरी बाहिनी मुख्यालयहरु, शिक्षालय तथा गणहरुमा सिनियर अफिसरको कमाण्डमा १ प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमाण्डमा २० जना, अन्य गुल्महरुमा जुनियर अफिसरको कमाण्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरुमा जुनियर अफिसरको कमाण्डमा १० जनाको टोली आवश्यक सामाग्रीसहित २४सैं घण्टा खटिइने गरी स्टेण्डबाई रहेका छन् ।

यसैगरी झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोष्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभि इक्यूपमेन्ट हरुलाई समेत तयारी अवस्थामा राखिएको छ । त्यस्तै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको स्वामित्वमा रहेको सामाग्रीहरु जस्तै लत्ताकपडा, त्रिपाल, टेन्टहरु सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. २० विपद् उद्धार गण र नं. २२ गुहेश्वरी गण भक्तपुर तयारी अवस्थामा राखिएको छ ।

विपद् प्रतिकार्यको पूर्वतयारीको लागि सशस्त्र प्रहरी बलले विभिन्न संघसंस्था तथा व्यक्तिसँग छलफल गरी विपद् व्यवस्थापनका चुनौती तथा प्रतिकार्यका लागि समुदाय लक्षित तालिम सञ्चालनसम्बन्धी सशस्त्र प्रहरी बल नेपालको गतिविधि एवं आगामी लक्ष्यलगायत विविध विषयहरुमा छलफल गर्दै आएको छ । छलफलमा विपद् व्यवस्थापन बेसहरुको संख्या वृद्धि तथा पर्वतीय उद्धार सम्बन्धी आगामी दिनमा गर्न सकिने योजनाहरुको समेत छलफल भएको छ ।

विपद्जन्य घटनाको पूर्वतयारीमा सशस्त्र प्रहरी बल, नेपालले विपद्सँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा कृत्रिम अभ्यासहरु गर्दै आइरहेको तथा अन्य निकायहरुले आयोजना गरेका कृत्रिम घटना अभ्यासहरुमा समेत सशस्त्र प्रहरी बल नेपालले सहभागिता जनाउनुको साथै पीडित नागरिकहरुको उद्धार एवं प्राथमिक उपचार र सुरक्षित स्थानान्तरणसम्मका पूर्व तयारी गर्दै आइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट विपद् प्रतिकार्यका लागि मनसुन अवधिभर साइकलको रुपमा कार्य गर्ने गरी ५० वटा टोली विभिन्न स्थानहरुमा परिचालन गरिसकिएको पनि सशस्त्र मुख्यालयले जनाएको छ । प्रदेशस्थित ७ वटै बाहिनी मुख्यालयहरुमा विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको छ ।

साथै उपत्यकामा आईपर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणलाई पनि तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ । यसैगरी देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा पनि विपद् प्रतिकार्यमा परिचालन गराउनका लागि निश्चित जनशक्तिलाई आवश्यक उपकरणहरुसहित तयारी अवस्थामा राखिएको छ । जसअनुरुप एक पटकमा २४सैं घण्टा रहने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?