यी हुन् मुद्धा दायर भएका कर्मचारी, ठेकेदार र कम्पनी

लोकपथ
182
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालसहितका अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो मागदाबी गरेको छ । उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारले माग गरेको छ । स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर र केही मुद्दामा विचाराधीन रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यस्तै, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ । आरोपित ११ जना र प्रतिवादी कम्पनी प्रिन्टसेलबाट जनही बिगो कायम गरिएको रकमबमोजिम जरिवाना असुल गर्नुपर्ने अख्तियारको मागदाबीमा उल्लेख छ । त्यस्तै स्टिकर छपाईमा भुक्तानी भएको ६ करोड ८४ लाख ४५ हजार ६ सय रुपैयाँ प्रतिवादीहरूबाट जनहीरुपमा असुल उपर गर्नुपर्ने अभियोग पत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?