९ दिनअगावै बढुवा सिफारिसमा परेका पोखरेल दुई दिनका लागि मात्रै एआईजी

लोकपथ
1.3k
Shares

काठमाडौं । आगामी असार १९ बाट रिक्त हुने नेपाल प्रहरीको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि ९ दिनअगावै सिफारिस गरिएका नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल दुई दिन मात्रै एआईजी बन्ने भएका छन् ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले आज सोमबार डीईआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । सो समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

एआईजी उमेशराज जोशी यही असार १८ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । उनको ठाउँमा पोखरेललाई बढुवा सिफारिस गरिएको हो । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् । यो हिसावले भन्दा पोखरेलले असार १९ मा एआईजीको फुली लगाउने छन् । र, असार २० गते राति १२ बजे उनको फुलीको औचित्य सकिने छ ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् । यसअघि २०७९ जेठमा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?