दधिकोटमा दुई करोड लुटपाट घटना घरधनीकै मामाको योजनामा भएको खुलासा (भिडियोसहित)

चार जना पक्राउ, ३६ लाख ३६ हजार रुपैयाँ नगद

लोकपथ
2k
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा गत असार ४ गते दिउँसो १ बजे भएको लुटपाट घटनाको प्रमुख योजनाकार उनकै मामा कुलबहादुर खत्री भएको प्रहरीले जनाएको छ । राउतका मामा खत्रीलाई उनको घरमा ठूलो परिमाणमा नगद रकम रहेको जानकारी भएपछि उनले नै सो रकम लुट्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

आफ्नो योजनाअनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा चिनजान भएका सुजन रसाइलीलाई त्यसबारेमा जानकारी गराएका थिए । रकम लुट्ने योजनाअनुसार असार ३ गते मामा कुलबहादुरले सुजन रसाइलीलाई डिल्लीबहादुरको घर देखाई रेकी (निगरानी) गर्न पनि लगाएका थिए । त्यसपछि भोलिपल्ट ४ गते बिहान ११ बजे डाँका चोरी तथा लुटपाट गर्ने योजनासहित भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एन्ड पिज्जा प्वाइन्टमा जम्मा भई उनीहरु त्यसतर्फ लागेका थिए । त्यहाँ पुगेपछि आफूहरु सीआईबीको प्रहरी भन्दै घरका सदस्यहरूलाई डरत्रास देखाई नियन्त्रणमा लिई दराजभित्र रहेको २ करोड नेपाली रूपैयाँ लुटपाट गरी फरार भएका थिए । लुटेको रकम भीमबहादुर तामाङ बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसे– २ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई गोकर्णेश्वर बस्ने ३१ वर्षीय भीमबहादुर तामाङ, ओखलढुंगा मानेभञ्ज्याङ–३ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई महाराजगञ्ज बस्दै आएका ३८ वर्र्षीय कृष्णबहादुर बोहोरा रहेका छन् । उनीहरुलाई भक्तपुरको सांगाभन्ज्याङ र ओखलढुंगाबाट विभिन्न मितिमा पक्राउ गरिएको हो । कृष्णबहादुर बोहरा बहालवाला हवल्दार हुन् । उनी नेपालगञ्जको महाराजगञ्ज गणमा कार्यरत् रहेको बुझिएको छ ।

प्रहरीले उनीहरुको साथबाट ३६ लाख ३६ हजार रुपैयाँ नगद, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२– ०३३ प ६१७४ नं.को २२० सीसीको पल्सर मोटरसाइकल, मोबाइल र अन्य सामान बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० बमोजिम चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्धा चलाएको छ । प्रहरीले सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँदेखि एक लाख रूपैयासम्म जरिबाना माग गरेको छ ।

पक्राउ परेका सुजन रसाइली विगतमा पनि विभिन्न कसुरमा कारबाही भई छुटेका व्यक्ति हुन् । २०७६ साल कात्तिक ४ गते काठमाडौं प्रहरीले उनलाई सुन जस्तो पहेलो धातु देखाई ठगी गरेको कसुरमा पक्राउ गरेको थियो । यस्तै, २०८० साल जेठ ११ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेले उनलाई कुटपिट तथा झैझगडा गरेको अभियोगमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?