काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका भातृ संघ संगठनहरुमा सांगठनिक चुस्तता भएमात्रै समयमै महाधिवेशन गर्न सकिने बताएका छन् ।
मंगलबार नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशनमा उनले भद्रगोल र भद्दा खालका संगठनहरु निर्माण गर्दै जाने हो भने समयमै महाधिवेशन सम्पन्न गर्न गाह्रो हुने बताए ।
उनले भने, ‘संगठनहरुमा सांगठनिक चुस्तता आवश्यक छ । ५४ सदस्यीय कार्यसमिति भएकै कारण आज आदिवासी जनजाति महासंघको महाधिवेशन समयमै सम्पन्न भइरहेको छ । तर, भद्रगोल र भद्दा खालको संगठनहरु निर्माण गर्न थाल्यौं भने त्यसले चुस्तता पाउदैन र महाधिवेशन समयमै सम्पन्न गर्न कठिन हुन्छ । त्यसतर्फ हाम्रो गम्भिर ध्यानाकर्षण हुनु आवश्यक छ ।’
लाभको पदहरुमा बढी कर्म र समयमै जिम्मेवारी गर्नेलाई अघि बढाउन कञ्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो ।
त्यस्तै, उपसभापति गुरुङले पार्टी नेतृत्व जमेको पोखरिको पानी जस्तो नभई बगिरहने खोलाजस्तो हुनुपर्ने बताए । ‘नेतृत्व भनेको जमेको पोखरीको पानी होइन । त्यो पोखरीको पानी जमिरहन्छ र त्यहाँ लेउ र झेउ मात्र उम्रन्छ । नेतृत्व भनेको त बगिरने खोलाजस्तो हुनुपर्ने बताए । पानी जस्तो होस्, जहाँ लेउझेउ उम्रदैन गन्तव्यमा पुग्दछ र समुन्द्रमा पुग्दछ,’ उनको भनाइ थियो ।
नेतृत्वमा सदाचारिता, मजबुत र सशक्त विचारको आवश्यकता रहेको समेत गुरुङले बताए ।
उनले भने, ‘हाम्रो विचार कमजोर हुँदा हाम्रो धरातल पनि कमजोर हुन्छ र हाम्रो संगठन पनि कमजोर हुन्छ । त्यसैले मजबुत र सशक्त विचारको आवश्यकता छ । त्यसपछि हरेक नेताको व्यवहारमा सदाचारिता हुन आवश्यक छ । हामी वीपीको अनुयायी हो भने गर्व गर्छौं । यो कुरा विर्सिनु हुदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया