अपरेशन ‘ब्राभो डेल्टा’ : आफ्नै भान्जाको ३ करोड लुट्न मामाले बनाए योजना

हुन्डीको पैसा हो, खोजी हुँदैन भन्दै गरियो डकैती

काठमाडाैँ ।

मिति :२०८० असार ४ गते
समय : अपराह्न १ बजे
स्थान : सूर्यविनायक ४ दधिकोट ।


चर्को गर्मीका कारण बाहिर निस्कन समस्या भएकाले म्यानपावर व्यवसायी डिल्ली बहादुर राउत भक्तपुरको सूर्यविनायक ४ दधिकोटमा रहेको आफ्नै घरमा आराम गरिरहेका थिए । ३५ वर्षीय राउतले सिनामंगलमा पार्टनरमा म्यानपावर कम्पनी चलाएका थिए । तर उनी त्यति धेरै कार्यालय जाँदैनथे । त्यसमाथि गर्मी बढेको कारण उनी घरमै बसिरहेका थिए ।

अपराह्न १:०० बजे उनको घरको ढोका कसैले ढकढकायो । डिल्लीको घरमा डिल्ली बहादुर राउत, उनकी आमा, भाइ बुहारी र सानो बच्चा पनि थिए । तर एक्कासि कसैले ढोका ढकढकाएको कारण उनीहरूले केही समय ढोका खोलेनन् । तर बाहिरबाट हामी प्रहरीहरू हौँ, ढोका नखोले फोरेर भित्र आउँछौँ भनेपछि डिल्ली राउतले घरको ढोका खोलिदिए ।

तीन जना युवाहरू सरासर घरभित्र पसे । एक जनाले आफूहरू प्रहरी रहेको भन्दै केही सूचना आएकाले घर खानतलासी गर्न आएको बताए । त्यसमध्ये एक जनाले आफ्नो पर्समा रहेको नेपाल प्रहरीको परिचय पत्र पनि देखाइदिए । यद्यपि डिल्लीले नाम भने पढ्न भ्याएनन् ।

तीन जना युवाहरू आफूहरू सिआइबी (पीडितका अनुसार सीबीआई) का प्रहरी भएको भन्दै उनीहरू सरासर घरभित्र छिरे र दुई वटा कोठामा प्रवेश गरे । ती युवाहरू डिल्ली बहादुर राउतको कोठामा प्रवेश गरी दराज खोले । त्यहाँ ३ करोड ३५ लाख रुपैयाँ नगद थियो ।

‘घर खानतलासी’मा गएको युवाहरूको समूहले दराजबाट पैसा निकालेर १ करोड ८० लाख रुपैयाँसम्म गन्ती ग¥यो । डिल्लीसँग नै झोला मागे र दुई वटा झोलामा हाले । झोला नभरिएको कारण थप २० लाख पैसा पनि झोलामा हाले । दुई वटै झोला भरिएपछि उनीहरूले एउटा साधारण कागजमा खानतलासी मुचुल्का भन्दै हस्ताक्षरसमेत गराए । त्यसपछि हामीहरू सम्पर्क गर्छौँ भन्दै त्यहाँबाट निस्किए ।

घरभित्र तीनजना प्रवेश गरेको भएपनि प्रहरी हौँ र खानतलासी गर्नु छ भन्दै गएका युवाको समूहमा ४ जना थिए । तीनजना घरभित्र प्रवेश गरेको भएपनि घरको ढोका नजिकै एक युवा रेकी गर्न बसेका थिए ।घरबाट २ करोड पैसा लिएर तीनजना युवा झरेपछि रेकी गर्ने थप एकजना समेत गरी चार जना युवाहरू निलो र रातो कलरको फरक फरक दुई वटा २२० सीसीको पल्सर मोटरसाइकलमा चढेर बाहिरिए ।

घटना भएको करिब एक घण्टा पछि मात्रै डिल्लीले एक युवालाई सम्पर्क गरे । आफ्नै कम्पनीमा काम गर्ने युवालाई पैसा लुटिएको भन्दै फोन आएपछि ती युवा सरासर भक्तपुर पुगे । घटनाबारे बुझ्दा प्रहरी आएको जस्तो नलागी लुटपाट भएको हो कि भन्ने लागेपछि प्रहरीमा उजुरी गर्नुपर्ने सुनाए । डिल्लीले क्रोएसियामा रहेका आफ्ना भाइलाई पनि सम्पर्क गरी लुटपाट भएकोबारे बताए । पैसाको श्रोत पुष्टि गर्न सकिन्छ भन्ने भएपछि बल्ल उनीहरुले भक्तपुर प्रहरीमा खबर गरे ।

खबर लगत्तै भक्तपुर प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु ग-यो । प्रारम्भिक अनुसन्धानमा लुटपाट भएको पुष्टि भएसँगै प्रहरीले वरपरको सिसिटिभी फुटेजको समेत अनुसन्धान सुरु ग-यो ।पीडित परिवारले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरूको खोजी सुरु भयो । प्रहरीले विभिन्न स्थानबाट सिसिटिभी फुटेज पनि सङ्कलन गर्न थाल्यो । सिसिटिभी फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना युवाहरू चढेर गएको देखियो । घटनास्थलमा लगाइएको कपडा रमोटरसाइकलमा चढ्दाको कपडा मिल्यो । लुटपाट गर्ने प्रहरी वा डकैतहरू उनीहरू नै हुन् भन्नेमा प्रहरी विश्वस्त भयो । यद्यपि मोटरसाइकल नम्बर स्पष्ट नदेखिएको र अनुहार पनि राम्ररी नचिनिएको कारण उनीहरू को थिए भन्ने चिन्न सकिएन ।

मोटरसाइकलमा हिलो पोतेर गएका थिए लुटेरा
सिआइबीका प्रहरी औँ भन्दै लुटपाट गर्न जाने व्यक्ति प्रहरी नभएर डकैतीको शैलीमा लुटपाटमा गएका व्यक्तिहरू थिए । उनीहरूले डिल्ली राउतको घरबाट झोलाभरि पैसा बोकेर गएका थिए । र, प्रहरी अनुसन्धानमा आफूलाई पक्राउ नगरियोस् र आफ्नो पहिचान नखुलोस् भनेर उनीहरूले आफ्नो मोटरसाइकलको नम्बर प्लेटमा हिलो पोतेर गएका थिए । जसका कारण सिसिटिभी फुटेजमा लुटेराहरू मोटरसाइकलमा चढेर गएको देखिए पनि मोटरसाइकलको नम्बर प्लेट नखुल्दा अनुसन्धान अगाडि बढ्न सकेन ।

…अनि सुरु भयो अपराध महाशाखाको अनुसन्धान
प्रारम्भिक अनुसन्धान गरेको भक्तपुर प्रहरीले प्राविधिक विश्लेषण र थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)लाई घटनाबारे जानकारी गरायो । असार ४ गते भएको घटनाको जानकारी अपराध महाशाखाले असार ५ गते मात्रै पायो । भक्तपुर प्रहरीबाट प्रारम्भिक अनुसन्धान प्रतिवेदन र सिसिटिभी फुटेज लिएपछि अपराध महाशाखाले त्यस घटनामा थप अनुसन्धान सुरु ग-यो । महाशाखाले डिएसपी अनिल घिमिरेको कमाण्डमा अनुसन्धान टोली तयार पारी अनुसन्धानको नाम दिइयो ‘अपरेशन ब्राभो डेल्टा’ । फोनेटिक अल्फाबेट अनुसार ब्राभोको अर्थ भक्तपुर र डेल्टाको अर्थ डकैती अर्थात् भक्तपुर डकैतीको अनुसन्धान गर्न थालिएको अनुसन्धानको नाम नै अपरेशनको ब्राभो डेल्टा राखियो ।

मङ्गलवार पत्रकार सम्मेलनका क्रममा कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराई, अनुसन्धान अधिकृत डिएसपी अनिल घिमिरे सहितका प्रहरीहरू

अपराध महाशाखाले सुरुमै मोटरसाइकलबाट अनुसन्धान सुरु ग-यो । तर मोटरसाइकलको नम्बर प्लेटमा हिलो पोतिएको कारण नम्बर प्लेटबाट थाहा पाउने सम्भावना रहेन । त्यसपछि अपराध महाशाखाको टोली कोही यातायात व्यवस्था विभाग, कोही पल्सर मोटरसाइकलको हेड अफिसमा पुग्यो । घटनास्थलमा प्रयोग भएको २२० सिसीको निलो पल्सर र रातो पल्सर कसले किनेको छ भनेर सम्भावित मोडल र नम्बर अनुसार खोजी सुरु ग-यो ।

महाशाखाले करिब २० वटा मोटरसाइकलको तथ्यांक लिएर यातायात कार्यालयमा गई ती मोटरसाइकलहरू कसको नाममा छ भन्दै खोजी ग-यो । यही क्रममा करिब २० जना मोटरसाइकल धनीसँग कुराकानी भयो ।कुराकानीको क्रममा बागमती प्रदेश ०२, ०४० प ५५३८ नम्बरको मोटरसाइकल शङ्काको घेरामा आयो । प्रहरीले उक्त मोटरसाइकलको धनी जयराज विकलाई सम्पर्क गरी प्रहरी कार्यालयमा बोलायो । जयराजले उक्त मोटरसाइकल आफ्नो नाममा किनिएको भएपनि भाइ सुजन रसाइलीले चलाउने गरेको बयान दिए ।

सुजनको आपराधिक पृष्ठभूमि तथा अन्य प्राविधिक अनुसन्धानबाट घटनामा सुजनको संलग्नताको सुराक पायो । त्यसलगत्तै प्रहरीले सुजनको खोजी सुरु ग-यो र अपरेशन ब्राभो डेल्टा सुरु गरेको करिब ४० घण्टामै असार ७ गते अपराह्न करिब ४ बजे सुजन रसाइली र भिम बहादुर तामाङलाई सोही मोटरसाइकलमा सवार रहेको समयमा काभ्रेपलान्चोकको साँगाबाट नियन्त्रणमा लियो ।


त्यसपछि अपराध महाशाखामा ल्याएर केरकार गर्दा उनीहरूले अपराध स्वीकार नै गरेनन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले कसुरमा संलग्नताको इन्कारी बयान दिए । तर प्रहरीले घटनास्थल वरपरको सिसिटिभी फुटेज देखाए भने पीडित डिल्ली बहादुर राउतकी आमालाई शङ्कितको फोटो देखाउँदा भिम बहादुर तामाङको पहिचान गरिन् । प्रहरीले सबै प्रमाण देखाएपछि भने बल्ल भिम बहादुर तामाङ र सुजन रसाइलीले आफ्नो अपराध कबुल गरे । यद्यपि आफूहरूले लुटपाट गरेको नभई उनीहरूले तस्करी गरेको र हुण्डीको रकम आफूहरूलाई राजीखुसीले दिएको बयान दिए ।
प्रहरीले उनीहरूको कोठासमेत खानतलासी ग-यो । खानतलासी गर्ने क्रममा भिम बहादुर तामाङको कोठाबाट नेपाल प्रहरीको परिचय पत्र पनि फेला प¥यो । ती प्रहरीबारे बुझ्दा उनी २०७५ सालमै जागिर छाडेका प्रहरी रहेको पाइयो भने घटनामा संलग्न रहेको देखिएन । त्यसपछि अपराध महाशाखाको टोलीले घटनामा प्रहरी भनेपनि नक्कली परिचय पत्र बनाएर डकैती गरेको निष्कर्षमा पुग्यो ।

सुजन रसाइली र भिम तामाङकै बयानका आधारमा ओखलढुङ्गाको मानेभञ्ज्याङ ३ स्थायी ठेगाना भएका मुना राज राईको समेत संलग्नता रहेको खुल्यो । त्यसपछि उनको खोजी गर्दै जाँदा प्रहरीले मुना राज राईलाई ओखलढुङ्गाबाटै पक्राउ ग¥यो ।
मुनाराज राईसँग बयान लिने क्रममा भने मुना राज राईले घटनामा एक बहालवाला प्रहरीको पनि संलग्नता रहेको बयान दिए । यद्यपि आफूले ती प्रहरीलाई नचिन्ने तर उनी सक्कली प्रहरी भएको बयान दिए । त्यसपछि फेरि प्रहरीले भिम बहादुर तामाङ र सुजन रसाइलीसँग कुराकानी गरेपछि घटनामा सशस्त्र प्रहरी गण महाराजगन्जमा कार्यरत प्रहरी हवल्दार कृष्ण बहादुर बोहोराको पनि संलग्नता रहेको बयान दिए । त्यसपछि प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ गरी ल्यायो । उनको कोठा खानतलासी गर्दा १० लाख फेला प-यो भने मुना राज राईको कोठाबाट प्रहरीले २० लाख नगद फेला पारेको थियो । सुजन र भिमको कोठा खानतलासी गर्दा भने जम्मा ६ लाख ३६ हजार रुपैयाँ मात्रै फेला परेको थियो ।

पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका चार अभियुक्त बायाँबाट क्रमशः मुना राज राई, सुजन रसाइली, भिम बहादुर तामाङ र कृष्ण बहादुर बोहोरा ।

लुटपाटको योजना पीडितको मामाबाटै !
जब प्रहरीले चारै जनाई पक्राउ गरी थप सोधपुछ ग-यो, तब लुटपाटको योजना बनाउने प्रमुख योजनाकार भने पीडित डिल्ली बहादुर राउतकै मामा र व्यापारिक साझेदारसमेत रहेका कुल बहादुर खत्री रहेको खुल्यो । कुल बहादुर खत्रीले नै सुजन रसाइलीसँग मिलेर भान्जा डिल्ली बहादुर राउतको साथमा रहेको रकम लुटपाटको योजना बनाएका थिए ।

फरार अभियुक्त कुल बहादुर खत्री

यसरी बन्यो लुटपाटको योजना
डिल्ली बहादुर राउतका मामा कुल बहादुर खत्रीलाई डिल्ली राउतको साथमा करिब ३ करोड रुपैयाँ रहेको जानकारी थियो । सोही रकम लुट्ने योजना बनाएर उनले सो कुरा आपराधिक पृष्ठभूमिका सुजन रसाइलीलाई सुनाए । उक्त रकम अवैध रकम रहेको र श्रोत पनि नखुलेको कारण रकम लुटेपनि प्रहरीमा उजुरी नजाने र त्यसको व्यवस्था आफूले गर्ने बताए । साथै लुटपाट हुने घर आफन्तको रहेको समेत बताए ।

त्यसपछि सुजनले उक्त कुरा सिन्धुपाल्चोकको भोटेकोशी २ स्थायी ठेगाना भएका भिम बहादुर तामाङलाई सुनाए । त्यसका लागि एकजना बहालवाला प्रहरी भए केस नै प्रहरीमा नजाने समेत बताए । त्यसपछि भिमले सँगै विद्यालयमा पढेका सहपाठी रही हाल नेपाल प्रहरीमा हवल्दार पदमा कार्यरत कृष्ण बहादुर बोहोरालाई योजना सुनाए । प्रहरीको कार्ड मात्रै देखाए पैसा पाइने र केस पनि दर्ता नहुने पक्कापक्की भएको भन्दै सुनाएपछि प्रहरीका हवल्दार कृष्ण बहादुर बोहोरा लुटपाटको योजनामा सामेल भए । भिमले नै ओखलढुङ्गाका मुना राज राईलाई पनि समूहमा सामेल गराए ।

समूहका सदस्य तयार भएपनि पीडितका मामा कुल बहादुर खत्रीले नै असार ३ गते पीडितको घर देखाइदिए । त्यसपछि असार ४ गते बिहान ११ बजे उनीहरू कौशलटारको लाइभ बर्गर एण्ड पिज्जा प्वाइन्टमा बसेर योजना बनाई दधिकोटमा रहेको डिल्लीराजको घरमा पुगेर सिआइबीको प्रहरीको हो भन्दै लुटपाट गरी फरार भए । त्यसपछि उनीहरू माकलबारीमा रहेको भिम बहादुर तामाङको कोठामा पुगेर लुटिएको रकम बाँडफाँड गरे । रकम बाँडफाँड गर्ने क्रममा पीडित डिल्ली राउतका मामा कुल बहादुर खत्री पनि त्यहीँ पुगे र सुजन रसाइली, भिम बहादुर तामाङ र मुना राज राईले २० २० लाख, प्रहरी हवल्दार कृष्ण बहादुर बोहोराले ३० लाख बाँडे भने बाँकी १ करोड १० लाख रुपैयाँ भने मुख्य योजनाकार रहेका कुल बहादुर खत्रीले लिएर हिँडे ।

झोला भरिएपछि छाडियो १ करोड ३५ लाख रुपैयाँ
वारदातको समयमा पीडित डिल्ली बहादुर राउतको दराजमा कुल ३ करोड ३५ लाख रुपैयाँ थियो । क्रोएसिया पठाउने भन्दै विभिन्न व्यक्तिहरूबाट उठाइएको उक्त रकम डिल्ली बहादुर राउतले घरमै राखेका थिए र त्यसको जानकारी मामा कुल बहादुर खत्रीलाई थियो ।लुटपाट गर्न गएकाहरूले डिल्लीको घरमा दुईवटा मात्रै झोला पाए र दुईवटा झोलामा २ करोडभन्दा बढी अट्न सकेन । त्यसपछि लुटेराहरूले आफूले देखेको र लैजान पाउने अवस्थामा रहेको बाँकी १ करोड ३५ लाख रुपैयाँ भने त्यहीँ छाडेर गएका थिए ।

लुटपाटपछि भाञ्जाको घरमा पुगे योजनाकार मामा
डिल्ली राउतको घरमा लुटपाट भएको करिब एक घण्टापछि डिल्लीले मामा कुल बहादुर खत्रीलाई फोन गरी घटनाबारे जानकारी गराए । त्यसलगत्तै कुल बहादुर खत्री पनि डल्लीको घरमा पुगे । घरमा अझै पैसा बाँकी रहेको भनेपछि त्यो पैसा फेरि लुटिन सक्छ भन्दै १ करोड क्रोएसियामा रहेका भाइले भने अनुसार बागबजारमा कार्यालय रहेको त्रिमूर्ति वल्र्ड टुर्स एण्ड ट्राभल्सका सञ्चालकलाई घरमै बोलाएर झोलामा एक करोड रुपैयाँ दिएर पठाइयो । बाँकी रहेको ३५ लाख रुपैयाँ फेरि लुटिन सक्छ भन्दै मामा कुल बहादुर खत्रीले म लगेर राखिदिन्छु भन्दै लगे ।

प्रहरीलाई जानकारी दिन मामाको इन्कारी
घटनापछि प्रहरीलाई जानकारी दिने कि नदिने भन्ने सम्बन्धमा ठूलो छलफल भयो । छलफलमा पीडित डिल्ली बहादुर राउत र मामा कुल बहादुर खत्रीले पैसाको श्रोत नखुलेको भन्दै प्रहरीमा उजुरी गरे झनै समस्या हुने बताए । केही रकमको श्रोत खुलाउन सकिने भएपनि सबै रकमको श्रोत खुलाउन सम्भव नभएको बताएपछि प्रहरीमा उजुरी नै गरिएन ।तर त्यहाँ आएका व्यक्ति प्रहरी नभएर डकैतहरू रहेको भन्दै छलफलमा सहभागी एक व्यक्तिले प्रहरीलाई जानकारी दिए । त्यसपछि पीडित डिल्लीले प्रहरीमा जाहेरी दिन बाध्य भए ।यसरी मामाकै योजनामा भाञ्जाको ३ करोड ३५ लाख रुपैयाँ लुट्ने मामाको योजना आधा मात्रै पूरा भयो । २ करोड रुपैयाँ लुटाउन सफल भएपनि अपराधबाट उन्मुक्ति पाउन भने सकेनन् ।

मङ्गलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिँदै घटनामा प्रयोग भएको जुत्ता, कपडा, झोला, मोबाइल आदि र नगद ३६ लाख ३६ हजार रुपैयाँ पनि बरामद गरेको छ । घटनाको मुख्य योजनाकार पीडित डिल्ली बहादुर राउतका मामा कुल बहादुर खत्री भने फरार छन् । परिवारका सदस्यलाई उनले आफू भारत जान लागेको र केही दिनको काम भएको बताएका छन् । प्रहरीले उनको समेत खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?