काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लागुऔषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुर्व्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे ।
बुधवार लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृह मन्त्रालयसँग समन्वय गरेर लागु औषधको दुरुपयोगलाई रोक्नको लागि कार्यविधि बनाउने बताए । यस्तै मन्त्री यादवले त्यसको लागि छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिँदै तत्काल कार्यविधि बनाउन आजै निर्देशन दिने उल्लेख गरे ।
उनले भने, ‘लागु औषधका जुन सेवनकर्ता छन्, उनीहरुको सुधारको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर एउटा कार्यविधि बनाउने र सात वटै प्रदेश र सबै जिल्लाहरुमा यसलाई लागू गर्न म आजै मन्त्रालयमा निर्देशन दिन्छु ।’
उनले सरकार आफ्ना युवा पुस्तालाई दुर्व्यसनीको प्रयोगबाट बचाउनको लागि सक्षम रहेको उल्लेख गर्दै निशूल्क औषधोपचारको व्यवस्था गर्ने चर्चा गरे ।
‘नेपाल सरकार सक्षम छ, आफ्नो युवा युवती बचाउनको लागि र आजैबाट अठोट लिन्छु । आजबाट स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयसँग समन्वयन गरेर देशको युवा पुस्तालाई कसरी सुरक्षित गर्ने, लागु औषधबाट कसरी छुटाउने, निशूल्क औषधी र उपचार कसरी दिने भन्ने कुरामा लाग्छ,’ मन्त्री यादवले भने ।
यस्तै, यादवले नेपालमा विभिन्न सङ्घ संस्थाले दुर्व्यसनिविरुद्ध सहयोग गर्दै आइरहेको भन्दै त्यसलाई स्वागत गर्ने तर, सरकारलाई नै गाली गर्ने प्रवृत्ति भने मान्य नहुने बताए । उनले दुर्व्यसनी विरुद्ध लड्न चार मन्त्रालय सक्षम रहेको भन्दाभन्दै सरकार लागु औषध दुर्व्यसनीका लागि कसैसँग भिक नमाग्ने नीति लिएर काम गर्ने दाबी गरे ।
उनले भने, ‘नेपालमा विभिन्न संस्थाको सहयोग छ त्यसको हामी स्वागत गर्छौ । नेपाल सरकारको मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने प्रवृत्ति बन्द हुनुपर्छ । कुनै पनि संस्थाको सहयोग लिन नपर्ने गरी स्वास्थ्य, गृह, युवा तथा खेलकुद मन्त्रालय मिलेर नेपालका समस्याहरु समाधान गर्ने छौ । त्यसको लागि हामी लाग्ने छौ । कसैको अगाडी भिक माग्न नपर्ने नीतिको साथ हामी अगाडि बढ्छौ,’ यादवले भने ।
उनले मन्त्रालयको जिम्मेवारी लिएपछि लागु औषधको प्रयोगलाई कसरी नियन्त्रण र सुधार गर्ने तथा कुलतमा रहेका युवालाई सुधार्न कार्य गरिरहेको जिकिर मन्त्री यादवले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया