शरीरमा देखिने सेतो दाग भिटिलिगोको संकेत पनि हुन सक्छ

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रायजसो हामीले हाम्रो शरीरमा सेतो दागहरू देखिने गर्छन् । यस्ता दागहरू एउटा निश्चित समयपछि आफै हराएर जान्छ भनेर सुरुमा हामी यसलाई त्यति धेरै ध्यान दिने गर्दैनौँ । यो गल्ती हामी सबैले गर्ने गर्छौँ ।

वास्तवमा हाम्रो हात गोडामा सेतो दाग देखिएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । शरीरमा देखिने यस्तो सेतो दागका धब्बाहरू छालाको रोग भिटिलिगोको संकेत पनि हुन सक्छन् । आज हामी तपाईँहरूलाई भिटिलिगोको सामान्य लक्षण र रोकथामका उपाय बारेमा जानकारी दिँदै छौँ ।

के हो भिटिलिगो ?
भिटिलिगो अर्थात् सेतो दाग छालाको रोग हो । भिटिलिगोको समस्या तब सुरु हुन्छ जब हाम्रो शरीरमा छालाको रङ उत्पादन गर्ने मेलानोसाइट्स कोषहरू नष्ट हुन्छन् वा ती कोषहरूले काम गर्न छोड्छन् । यी कोशिकाको कमीका कारण छालामा सेतो दागहरू बन्न थाल्छ । सेतो दागको समस्या जुनसुकै उमेरका मानिसलाई पनि हुन सक्छ ।

भिटिलिगोका लक्षणहरू
शरीरमा साना वा ठुला सेतो दागहरू देखिनु भिटिलिगोको मुख्य लक्षण हो । यी दागहरू शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर सामान्यतया यो अनुहार, हात खुट्टा र कम्मरका बढी फैलिएको देख्न सकिन्छ । यो रोग भएका व्यक्तिहरूमा यसको कारणले अन्य समस्या भने आउने गर्दैनन्, तर कहिलेकाहीँ कोही कोहीमा भने दागमा चिलाउने गर्छ ।

भिटिलिगो हुनुको कारण ?
भिटिलिगोको कारणहरू अझै पूर्णरूपमा स्पष्ट हुन सकेको छैन । तर अनुसन्धानले केही कारकहरु फेला परेका छन्, जसले यसको सम्भावनालाई भने बढाउन सक्छ । भिटिलिगो छालामा मेलानिन नामक पिग्मेन्टको कमीले हुन्छ । मेलानोसाइट्सले मेलानिन नामक पिग्मेन्ट उत्पादन गर्छ । जसले छालालाई रङ दिन्छ । यसमा कुनै किसिमको समस्या देखिदा भिटिलिगोको समस्या आउन सक्छ । यो समस्या त्यसबेला पनि देखिन सक्छ, जब अटो इम्युनिटी अर्थात् व्यक्तिको आफ्नै इम्युनिटी सिस्टमको गल्तीले आफ्नै कोषमा आक्रमण गर्छ । यस बाहेक यो समस्या परिवारमा कसैलाई छ भने परिवारका अन्य सदस्यलाई पनि देखिने सम्भावना रहन्छ । साथै तनाव, थाइराइडको समस्या र भिटामिन डीको कमीका कारण पनि यो समस्या देखिन सक्छ ।

भिटिलिगोबाट बच्ने उपाय
भिटिलोगोबाट बच्नको लागि हामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ । जस्तै :
– सन्तुलित आहारको सेवन गर्ने, भिटामिन र मिनरल्सले भरपुर प्रोटिनयुक्त खाने कुरालाई आफ्नो आहारमा समावेश गर्ने ।
– छालमा भएका कुनै पनि सानो दागलाई बेवास्ता नगर्ने र समयमा नै चिकित्सकको सल्लाह लिने, तनाव नलिने ।
– चोटपटकबाट बच्ने ।
– सनस्क्रिन लगाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?