काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार विहान माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नतिजाअनुसार, १८६ जनाको मात्रै ४ जिपिए आएको छ ।
यो पटक ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।
यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गरेको हुनुपर्छ ।
अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अंक आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।
२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए ।
एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया