पोखरा । सर्वोच्च अदालतको आदेशबाट प्रदेश सभा सदस्यमै फर्किएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । आज बिहीबारको बैठकमा भाग लिन संसद् भवन पुगेपनि उनलाई लबी कक्षमा प्रवेशअघि नै मर्यादा पालकले रोकेका थिए ।
संसद् सचिवालयका एक कर्मचारीका अनुसार, उनको सांसद पद कायम रहेको सर्वाेच्च अदालतको अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा आइसकेको भएपनि सभामुखले उनलाई संसद प्रवेशमा रोक लगाएका हुन् । गण्डकी प्रदेशमा माओवादीका सभामुख छन् ।
‘अदालतको पत्र आइसकेको छ । सभामुखको अधिकार हो । केही बोल्न मिलेन,’ ती कर्मचारीले भने, ‘अन्तरिम आदेश आएपछि रोक्न मिल्दैनथ्यो । सभामुखले हाजिर नगराउनुस् भन्ने आदेश दिनुभयो ।’
त्यसो त देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराएका थिए । तर सहजीकरण गरिएन । उनले भने, ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको थिएँ, तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले भित्र जना दिएनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया