विश्वकप २०२४ मा अपराजित दुई टोलीबीचको उपाधि भिडन्त आज

लोकपथ
19.7k
Shares

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी–२० विश्वकपको फाइनल खेल आज हुँदैछ । बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् ।

दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् । दक्षिण अफ्रिका पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै उपाधि भिडन्तमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो ।
टी–२० क्रिकेटमा दक्षिण अफ्रिका र भारतबीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ । एउटा खेलको भने नतिजा आएको थिएन ।

टी–२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदाबा छ । दुवै टोली ६ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।
दक्षिण अफ्रिकाको विश्वकप यात्रा
एडन मार्करामको नेतृत्वमा रहेको दक्षिण अफ्रिकी टोलीले यो विश्वकपमा अहिलेसम्म ठ खेल खेलेको छ । शतप्रतिशत निकालेको मार्करामको टोलीले समूह चरणका चार खेल र सुपर आउण्डमा तीन खेल जितेको थियो । यसपछि सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा दक्षिण अफ्रिकाले श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र नेपाललाई पराजित गरेको थियो । त्यसपछि सुपर–८ राउण्डमा अमेरिका, इंग्ल्याण्ड, वेस्ट इन्डिजलाई हराएको थियो ।
सेमिफाइनलमा दक्षिण अफ्रिकी टोली अफगानिस्तानलाई फराकिलो विकेटले पराजित गर्दै पहिलो पटक आईसीसी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिकी टोली कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको थिएन। अब टोली च्याम्पियन बनेमा अपराजित रहँदै च्याम्पियन बन्नेछ । पहिलो पटक आईसीसी विश्वकप ट्रफी जित्ने टोली बन्ने छ ।

भारतको विश्वकप यात्रा
रोहित शर्माको कप्तानीमा भारतले यो विश्वकपमा अहिलेसम्म सात खेल जितेको छ। एक खेल वर्षाले रद्द भएको थियो । भारतले समुह चरणमा तीन खेल जितेको थियो भने सुपर आठ चरणमा पनि तीन खेल जितेको थियो । समूह चरणमा भारतले आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो । तर, भारत र क्यानडाको खेल भने वर्षाले रद्द भएको थियो । त्यसपछि सुपर आठमा भारतले अफगानिस्तान, बंगलादेश र २०२१ को च्याम्पियन अस्ट्रेलियालाई हराएको थियो । सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६८ रनले हराएर २०२२ विश्वकपको सेमिफाइनलमा भएको हारको बदला पनि लिएको थियो । भारतले पनि अहिलेसम्म सात खेलमा अपराजित रहेर फइनल खेल खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?