पार्टीभित्र गुटबन्दी लागू नहुने नेता खनालको दाबी

लोकपथ
247
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने दाबी गरेका छन् । आफूहरुले पार्टीभित्र गुटबन्दी नचाहेको र पार्टीलाई आपसी छलफल एवम वहसमार्फत अघि बढाउन प्रतिबद्ध रहेको बताए ।

शनिबार पार्टीको दशौं महाधिवेशन सम्बन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता खनालले जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा पार्टी सञ्चालन गर्ने बताए । साथै नेकपा एसले पूरानै पदाधिकारी संख्यालाई निरन्तरता दिएको प्रस्ट्याए ।

‘पार्टी संगठन भनेकै कमरेडहरुलाई व्यवस्थापन गर्ने संरचना हो, यो स्वभाविक हो । पार्टीको सातौं महाधिवेशनसम्म एउटा नेता भए आठौंदेखि विभिन्न पदहरु सिर्जना गर्यौं । त्यही पदको आधारमा व्यवस्थापन गर्दै आएको हो । विचार र व्यवस्थापन दुवैको सन्तुलन मिलाएर हामी अगाडि बढ्नुपर्ने हुन्छ । पार्टी सुुरु गर्दा पनि २१ वटै पदाधिकारी थिए । अहिले पनि त्यसैलाई कायम गरौं भन्ने सहमति भएको हो, धेरै बढाएको भन्ने कुरा होइन’ खनालले भने ।

तर उनले कसलाई कुन पद दिने भन्ने सन्दर्भमा आन्तरिक छलफल गरिरहेकाले चाँडै सो विषय टुंग्याउने जानकारी दिए । यस्तै उनले पार्टीभित्र गुटबन्दी नहुने बताए । आफूलाई गुटबन्दी भन्ने थाहै नभएको चर्चा गर्दै नेता खनालले पार्टीभित्र गुटबन्दी नहुने दाबी गरेका हुन् ।

‘जहाँसम्म गुटगत भेलाका कुरा छन् मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिन । गरें भने पनि जान्दिंन । उहाँहरुले नि गर्नुभएको जस्तो मलाई लाग्दैन । हामी नेताहरुसँग विभिन्न कमरेडहरु आउनुहुन्छ, कहिले यता कहिले उता छलफल गर्छौ । कहिले होटलमा, कहिले रेस्टुरेन्टमा होला, कहिले घरमा यस्ता छलफलहरु भइरहन्छ । यो गुटबन्दी होइन एक आपसको छलफलको कुरा हो,’ उनले थपे, ‘गुटबन्दी नै साँच्चै भएको छ भने चाँही त्यो गलत कुरा हो । पार्टीले त्यसको विरोध गर्छ ।’

यस्तै, उनले पार्टीभित्र गुटबन्दी आफूहरुले नचाहेको उल्लेख गर्दै त्यसका विरुद्ध पार्टी दृढ प्रतिबद्ध रहेको बताए ।
खनालले पार्टीको महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना समेत जिकिर गरेका छन् । ‘नेपालको समाजवादी कार्यक्रमलाई समेटेर महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ, जसले नेपालको सम्रग कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने र समाजवादलाई सुनिश्चितता गर्दछ’ उनले भने । संविधानमा समाजवाद भएपनि त्यसको व्याख्या नभएको बताएका खनालले व्याख्या आफ्नो पार्टीले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?