धरानको कृषि बजारबाट बेचिन्छ वर्षमा डेढ लाख खसी

लोकपथ
13
Shares

सुनसरी । धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।

मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आएका छन् । ‘केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु’, उनले भने, ‘साना खसी रहेकाले जोडीको १५ हजारमा बिक्री गरिरहेको छु ।’ उनको फार्ममा अहिले १६ वटा खसी छन् ।

धनकुटा सागुरीगढी गाउँपालिका–७ की किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसी, बोका बिक्रीबाट वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिइन् । पशुपालन पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताइन् ।

‘घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ’, उनले भनिन् ।

मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउँछन् । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उनले जानकारी दिए । ‘यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ’, उनले भने ।

काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरूवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाए । उनका अनुसार सबै खर्च कटाएर मासिक ७० हजार रुपैयाँसम्म नाफा हुने गरेको छ ।

बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष साउनदेखि यसवर्षको असारको १० गतेसम्ममा दुई अर्बको कारोबार भएको छ ।

भट्टराईले भने, ‘पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।’ धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उनको भनाइ छ । यहाँबाट मुलुकको ठूला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?