कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुन प्रचण्डको जोड

लोकपथ
169
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको भन्दै अगाडि पनि यसरी नै जानको लागि आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका हुन् ।

उनले भने, ‘विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण ग-यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन । विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’

उनले व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको भन्दै सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए ।

उनले भने, ‘दशकौँ लामो संघर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ । सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धी प्राप्त गरेका छौँ ।’

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाक्षा जगाइदिएको परिस्थितिमा जनताको आकाक्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको भन्दै जनआकांक्षा पूरा गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ । इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।’
उनले निरंकुश विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह पनि गरेका छन् ।

पुष्पलालमा केन्द्रीत भएर एकता गर्ने प्रयास गर्ने हो भने त्यो एकता दिगो हुन सक्ने पनि उनको भनाई छ ।
उनले भने, ‘राजतन्त्रका विरुद्ध गणतन्त्रका लागि लड्ने कुरामा निरन्तर अडान राखेर जाने नेताको रुपमा र पार्टी र सिद्धान्तमा अडि रहने नेताको रुपमा पनि कमरेड पुष्पलाल हुनुहुन्थ्यो । उहाँ त्यस्तो व्यक्तित्व हुन सक्छ नेपालमा जसको वरिपरि कम्युनिष्ट आन्दोलनको एकता हुन सक्छ ।

अरु कुनै नेताको नामबाछ एकता गर्न खोज्यो भने नेपालमा आजको मितिमा सम्भव छैन् । कमरेड पुष्पलाल संस्थापनक महासचिव कम्युनिष्ट घोषणा पत्रको अनुवादक, संघर्षको प्रतिकको रुपमा हामी सबै कम्युनिष्ट समुहको लागि एकताको आधार पुष्पलाल नै हुन सक्ने देख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?