एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन भोलिदेखि

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ।

महाधिवेशनका बारेमा जानकारी दिन शनिबारआयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए। उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

महाधिवेशनमा १ हजार ८४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ। पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ। काठमाडौं उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ। करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।

एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?