लोकेशन पत्ता लागिसकेको भनेकै ११ दिन बितिसक्यो, खै त जीबी राई गृहमन्त्रीज्यु ?

लोकपथ
689
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा गीतेन्द्रबाबु (जीबी) राईको लोकेसन पत्ता लागिसकेको र नेपाल ल्याउने विषयमा पहल सुरु भइसकेको बताएको ११ दिन बितिसक्यो । ६ असारमा चितवनमा यस्तो जानकारी दिएका गृहमन्त्री लामिछाने त्यसपछिका दिनमा भने मौन छन् । बरु आफ्नो यो भनाइपछि उनी आलोचनाको पात्र बनेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमै ‘गृहमन्त्री लामिछानेले जीबी राईको लोकेशन पत्ता लागिसकेको भनेर भगाउन सहयोग गरेको’ भनेर चर्काे आलोचना गर्दा पनि उनले त्यसपछिका प्रगति विवरण पेश गर्न सकेका छैनन् । उनको मौनताले सार्वजनिक खपतका लागि मात्रै उनले यी कुरा बोलेका हुन् भन्ने प्रष्ट हुन्छ ।

६ असारमा चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले जीबी राईको लोकेसन पत्ता लगाइएको र सुपुर्दगीलगायतका कारण तत्काल ल्याउन नमिलेको तर प्रयास भइरहेको बताएका थिए । उनले भनेका थिए, ‘मलेसियामा जीबी राईको लोकेसन पत्ता लागिसक्यो । मलेसियाका गृहमन्त्रीले नै उनको लोकेसन पत्ता लगाएका हुन् । उनलाई नेपाल ल्याउने विषयमा पहल सुरु भइसक्यो ।’

त्यस दिन गृहमन्त्री लामिछाने यतिमै मात्र रोकिएका थिएनन् । उनले यस विषयमा ३÷४ दिनअघि मात्रै मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको दाबीसमेत गरेका थिए । उनको भनाइलाई पत्याउने हो भने गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग जीबीको विषयमा कुराकानी भएको यो दोस्रो पटक हो । यसअघि मे पहिलो साता पनि गृहमन्त्री लामिछानेले मलेसियाका आफ्ना समकक्षी इस्माइलसँग टेलिफोन संवाद गरेका थिए । त्ययिबेला नेपालका गृहमन्त्री लामिछानेसँग संवाद भएको भन्दै इस्माइलले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका थिए । तर उनले जीबीबारे कुराकानी भए/नभएको खुलाएका थिएनन् ।

गृहमन्त्री लामिछानेको त्यस दिनको भनाइलाई आधार मान्ने हो भने मलेसियाका गृहमन्त्री इस्माइल र लामिछानेबीच पछिल्लो संवाद भएको तीन साता बढी भइसकेको छ । गत मेमा नेपालका गृहमन्त्री लामिछानेसँग संवाद भएको जानकारी दिने मलेसियाका गृहमन्त्री अहिले भने मौन छन् । उनले यस विषयमा मुख खोलेका छैनन् ।

त्यसो त सहकारी ठगी प्रकरणमा फरार रहेका गृहमन्त्री लामिछानेका पूर्व व्यावसायिक साझेदार जीबी राई मलेसियामै रहेको र नेपाल ल्याउन समस्या भइरहेको त्यतिबेलै नेपाल प्रहरीले सार्वजनिक रूपमै बताएको थियो । अहिले जीबीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेकोबारे आफूहरुलाई थाहा नभएको प्रहरी अधिकारीहरूको भनाइले रविले ‘राजनीतिक स्टन्टबाजी’ त गरिरहेका छैनन् भनेर आशंका गर्नेहरुलाई भने बल मिलेको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अधिकृतका अनुसार, जीबीको विषयमा चार महिनाअघि नै ‘रेड नोटिस’ जारी भइसकेर पहिल्यै प्रक्रिया अघि बढेको हो । प्रहरीले गर्नुपर्ने काम पहिल्यै गरिसकेको थियो । तर अहिले फेरि प्रक्रिया अघि बढेर ल्याउन लागिएको भन्नेबारे जानकारी भएन ।

‘गृहमन्त्रीज्यूको व्यक्तिगत पहलबाट मलेसियाका गृहमन्त्रीमार्फत कुरा भएर अघि बढेको भए हामीलाई जानकारी हुने कुरा भएन,’ नेपाल प्रहरीको इन्टरपोल शाखाका ती अधिकृतले भने, ‘इन्टरपोलको औपचारिक च्यानलबाट जीबीलाई स्वदेश फिर्ता पठाउन लागिएको भए नेपाल प्रहरीको इन्टरपोल शाखालाई जानकारी हुन्थ्यो । तर अहिलेसम्म इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) मलेसियाले एनसीबी काठमाडौंलाई कुनै जानकारी दिएको छैन ।’

जीबीविरुद्ध प्रहरीको इन्टरपोलले १३ माघ २०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिसमात्रै जारी हुँदा नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुनमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिससमेत जारी गरेको थियो । त्यसपछि नेपाल सरकारले मलेसिया सरकारलाई कूटनीतिक नोटसमेत पठाएको थियो ।
नेपाल प्रहरी स्रोतका अनुसार गृहमन्त्री लामिछानेका पूर्व व्यावसायिक साझेदार जीबी राईले क्वालालम्पुरको देशापन्डनमा ७ करोड नेपाली रुपैयाँभन्दा बढीको अपार्टमेन्ट खरिद गरेका छन् । मलेसियाकै अर्को शहर साइबरजयामा पनि उनले मार्ट खोलेका छन् । उनले एक अर्बभन्दा बढी नेपाली रुपैयाँ मलेसियामा लगेर लगानी गरिसकेका छन् ।

नेपाल प्रहरी स्रोतका अनुसार, जीबी राई मलेसियामा मलेसियन नागरिक सरह नै बसिरहेका छन् । मलेसियामा ‘मेक मलेसिया माई सेकेन्ड होम’ (एमएचटुएच) नीति कार्यान्वयनमा छ । यो भनेको तोकिएको रकम मलेसियन सरकारलाई तिरेपछि मलेसियन नागरिक सरह बस्न मिल्छ ।

आफ्नो देशमा कुनै अपराध नगरेको बेलासम्म यस्ता व्यक्तिलाई मलेसिया सरकारले हत्पत उसको मुलुकमा पठाउँदैन । अझै अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसियन सरकारले पठाउन नै चाहँदैन ।
जीबी मलेसियामा रहेको थाहा हुँदाहुँदै उनलाई नेपाल ल्याउन नसक्नुको मुख्य कारण भनेको मलेसियासँग सुपुर्दगी नभएकाले हो ।

त्यसो त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आफैंले जीबी राई मलेसियामा सुरक्षित रहेको संकेत १५ चैतमा संसद्को राज्य व्यवस्था समितिको बैठकमै दिएका थिए । त्यस दिन उनले भनेका थिए, ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो तर मलेसियासँग सुपुर्दगी नहुँदा समस्या भएको छ ।’

जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी २०७९ को पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पुगेको स्रोतको दाबी छ । तर त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोतको दाबी छ ।

जीबी राईको नाम पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीमा जोडिँदै आएको छ । उनी डेढ वर्षदेखि फरार छन् ।
जीबी राई पक्राउ पर्न नसकेपछि गृहमन्त्री लामिछानेको राजनीतिक साख दिनप्रतिदिन गिर्दाे छ । बोली र व्यवहारमा तादातम्यता मिल्न नसकेको भन्दै उनको उछितो काढ्नेहलाई बल मिल्दै गएको छ ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गत ४ असारमा संसद बैठकमै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको टिप्पणी नै गरे । प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सुरुमै भने, ‘गृहमन्त्रीमा हुटहुटी छ । तपाईंको हुटहुटीले नि काम गरेन ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता गृहमन्त्रीले गरेको तर, कार्यान्वयन नभएको उनले सम्झाए । सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाएका थिए ।

‘आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो,’ सांसद थानीले भनेका थिए, ‘२०८० चैत १० गते गृहमन्त्रीले जिबी राई आकाश हो कि पाताल जहाँ भएपनि हो समातोर ल्याउँछु भन्नुभएको थियो । त्यो याद छ कि छैन ?’२०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर गरेको टिप्पणीमाथि समेत थानीले प्रश्न उठाएका थिए ।

‘जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ तपाईंको अगाडि हुनुहुन्छ । कसरी भगाउनुभयो ?’, थानीले प्रश्न गरे, ‘५० दिनमा भाषा चेञ्ज गर्नुभयो । यस्तै तरिकाले मुलुक चल्छ, यही तरिकाले गृह मन्त्रालय चल्छ ?’ पछिल्ला दिनका सामाजिक सञ्जाल हेर्ने हो भने थानीको हाईहाई गर्ने धेरै भेटिएका छन् । तर गृहमन्त्री लामिछानेलाई गाली नगर्ने, नउडाउने मान्छे कमै भेटिन्छन् ।

थानीले संसदमा बोलेको पाँच दिनपछि ९ असारमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई किन पक्राउ नगरेको ? भनी गृहमन्त्री तथा जीबी राईका तत्कालीन पार्टनर रवि लामिछानेलाई सोधेका थिए ।

गृहमन्त्री लामिछानेले एक सार्वजनिक कार्यक्रममा जिबीको लोकेशन पत्ता लागेको भए किन नसमातेको भनेर प्रश्न गरेका थिए । फरार आरोपितको लोकेशन थाहा भयो भन्दै सूचना सार्वजनिक गर्नुले भगाउने नियत हुनसक्ने शर्माको आशंका थियो । त्यसदिन उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको बताउँदै उनले जीबीलाई कहिले हाजिर गराउने हो स्पष्ट पार्न मागसमेत गरेका थिए ।

त्यस दिन शर्माले संसदमा बोलेको भनाइ यस्तो थियो, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेशन चाहिएको होइन । देशलाई जिबी राई चाहिएको हो ।

अब त्यो लोकेशनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? यो प्रश्न गर्न चाहान्छु । गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेशन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेशन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ ? देशलाई जीबीको लोकेशन चाहिएको होइन । जीबी राई चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?