काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा शनिबार भएको तीन घण्टा लामो छलफललाई लिएर सशंकित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान ओलीसँग टेलिफोन सम्वाद गरेका छन् । दुई नेताबीचको सम्वादपछि आजै भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा पुष्पलाल जन्मजयन्ती समारोहको कार्यक्रममा नगई ओलीले देउवालाई आफ्नै निवास बालकोटमा बोलाएका थिए । ओली भेट्न देउवा श्रीमती आरजुलाई लिएर गएका थिए । सो कार्यक्रममा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री दाहाल हतार हतार काठमाडौं फर्किएका थिए । प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सीपी गजुरेल, बामदेव गौतम, देव गुरुङ, सीपी मैनाली, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई कार्यक्रमका अतिथी थिए । प्रधानमन्त्री दाहाल भरतपुरमा धान दिवस मनाएर हतार हतार काठमाडौं फर्कंदा बालकोट निवासमै रहेका एमाले अध्यक्ष ओली भने कमलादीको कार्यक्रम नगई देउवासँग भेटघाटमा व्यस्त थिए ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित भएको छ । प्रधानमन्त्री दाहालले माओवादी नेताहरुसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरिरहेको उनीनिकट स्रोतको भनाइ छ ।
विशेषगरी सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि, दुई नेताबीच वान टु वान भेटवार्ता भएकाले यस विषयमा केही पनि सार्वजनिक भएको छैन ।
त्यसो त पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ । बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।
यता, प्रधानमन्त्री दाहालले भने ओलीसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै गठबन्धन चुनावसम्मै कायम रहने दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया