काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिइओ सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई शुक्रवार राति पक्राउ गरेको हो ।
सहकारीको बचत अपचलन गरेको अभियोगमा प्रहरीले सिइओ भण्डारी, अध्यक्ष लगायतका चार पदाधिकारीलाई पक्राउ गरेको हो । निक्षेपकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
धेरै ब्याज दिन्छु भनी निक्षेपकर्तासँग रकम लिएर समयमै फिर्ता गर्न नसकेपछि उक्त सहकारी समस्यामा परेको थियो । निक्षेपकर्ताको रकम घरजग्गामा लगानी गरेपछि फिर्ता दिन नसकेको हो । निक्षेपकर्ताको उजुरीका आधारमा प्रहरीले ठगी कसुरमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले आइतवार मध्यान्ह पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने कार्यक्रम छ । पक्राउ परेकाहरुलाई सार्वजनिक गरेपछि ललितपुर प्रहरीको जिम्मा लगाइने छ ।
स्मरणीय के छ भने गायक रामकृष्ण ढकालले सहकारीबाट लिएको ऋण नतिरेको भन्दै यही सहकारीले करिब ९ वर्ष अगाडि उनको घर कौडीको भाउमा लिलाम गरेको थियो । अहिले यही सहकारी आँफै निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया