काठमाडौं । वचतकर्ताहरुको तीन करोड रुपैयाँ निक्षेप अपचलन गरी फरार रहँदै आएका ललितपुरको पुल्चोकस्थित श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष, सचिव एवं प्रमुख कार्यकारी अधिकृतसहित चार जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अझै पाँच जना फरार छन् ।
सञ्चालक समिति र लेखा समिति गरी ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्न ललितपुर जिल्ला अदालतले २०८० साल चैत ३० गते अनुमति प्रदान गरेपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो ।
वादी नेपाल सरकार प्रतिवादी ध्रुव खरेलसमेत भएको ठगी सम्बन्धी कसूर मुद्धाको अनुसन्धानको सिलसिलामा श्री लालीगुँरास सहकारी संस्थाका सञ्चालक पदाधिकारीहरु उपर आवश्यक अनुसन्धान हुन जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्देशनसहितको पत्र पठाएपछि उनीहरुउपर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ अनुमति प्राप्त भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीया कदमबाबा जोशी प्रधान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार। अध्यक्ष श्रेष्ठ ३१ वर्ष नेपाल बैंक लिमिटेड मुख्य कार्यालय नयाँ सडकमा ‘चिफ मेनेजर’ का रुपमा काम गरिसकेका व्यक्ति हुन् । उनले २०६१ सालमा श्री लालीगुँरास सहकारीको सचिवको रुपमा २ वर्ष काम गरेका थिए । २०६४ सालमा उनी सो संस्थाको उपाध्यक्ष बनेका थिए भने निरन्तर ८ वर्ष सो पदका काम गरेका थिए । २०७४ सालमा अध्यक्ष बनेका उनी त्यसयता निरन्तर सो पदमा कार्यरत छन् ।
७६ वर्षीय अर्याल भने ३१ वर्ष नेपाल बैंक लिमिटेडको विभिन्न शाखामा कार्यरत रही कामु शाखा प्रबन्धक पदबाट अवकाश पाएका व्यक्ति हुन् । २०६५ सालदेखि सो सहकारीको सदस्यको रुपमा रहेका उनी हाल कोषाध्यक्ष पदमा कार्यरत व्यक्ति हुन् ।
त्यस्तै, कदमबाबा जोशी प्रधान २०४० सालदेखि शिक्षण पेशामा प्रवेश गरी लामो समय सोही पेशामा आबद्ध व्यक्ति हुन् । उनी २०७४ सालदेखि हालसम्म सो सहकारीको सञ्चालक सदस्य रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया