इरानी राष्ट्रपतीय निर्वाचन : बहुमत नआएपछि शुक्रबार अर्काे निर्वाचन

लोकपथ
286
Shares

तेहरान । इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीको भन्दा करिब चार प्रतिशत बढी ल्याउन सफल भएका छन् । पहिलो चरणको निर्वाचन यही जुन २८ गते सम्पन्न भएको थियो । निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत र पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत र अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् । पेजेस्कियानले पाएको ४२.४ प्रतिशत मत राष्ट्रपति निर्वाचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम भएकाले दोस्रो चरणको निर्वाचन गर्नुपर्ने छ ।

इरानी संविधान अनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । शनिबार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भने, ‘पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न नसकेको र दोस्रो चरणको निर्वाचनपूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई ५ मा हुनेछ ।’

चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिँदै आगामी शुक्रबार फेरि मतदान गरी देशलाई गरिबी, झूट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गरेका छन् । सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रशारित एक भिडियोमा उनले भने, ‘तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनको लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।’

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले शुक्रबार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गरेका छन् ।निर्वाचनमा ६ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो । मतदानमा १० लाखभन्दा बढी मत बदर भएका छन् । यो निर्वाचन सन् २०२५ मा हुने तय भएको थियो तर गत महिना हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?