काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको दुई घण्टा लामो भेटवार्ता भर्खरै सकिएको छ । दुई नेताबीचको भेटवार्ताको अन्तिममा रास्वपा अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल सकेपछि दाहाल र लामिछाने एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिन गएका छन् भने ओली भने महाधिवेशनमा गएनन् । एकीकृत समाजवादीले ओलीलाई पनि आमन्त्रण गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच शनिबार ओली निवास बालकोटमा भएको तीन घण्टा लामो छलफलको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिलेकै सत्ता गठबन्धनलाई टिकाएर लैजानेबारे कुराकानी भएको बताइन् । ‘राजनीतिक दलका नेताहरूबीच भेटघाट हुँदैमा विश्वासको वातावरण नबिग्रिने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समझदारी बनेको छ,’ उनले भनिन्, ‘सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच भेटवार्ता हुनु सामान्य कुरा हो, सत्ताबाहेक अरू पनि राजनीतिक ऐजेण्डाहरू हुन्छन्, बाहिर चर्चा भएजस्तो यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा भएको छैन ।’
लामिछाने सहितको संवाद पनि गठबन्धनलाई थप बलियो बनाउने भन्ने बारेमा केन्द्रित रहेको उनले बताइन् । नेताहरुहरूबीच सोमबार बिहान ९ बजे छलफल गर्ने समझदारी बनेको छ ।
बालकोट भेटमा देउवा र ओलीबीच के छलफल भएको थियो सार्वजनिक भइसकेको छैन । तर त्यो भेटपछि प्रधानमन्त्री दाहाल र उनको पार्टी माओवादी केन्द्र तरंगित बनेको छ । दुई नेताबीचको भेटपछि रास्वपा अध्यक्ष लामिछाने पनि झस्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया