नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो : अध्यक्ष यादव

लोकपथ
98
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गरेका छन् । आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा बदलिँदै गएको उल्लेख गरे ।

उनले स्वास्थ्य सेवामा माफियाहरुको विगविगी रहेको बताए । उनले भने,‘अहिले लोकतन्त्र विस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा कुनै बाहिबाट छैन् हामी भित्रैबाट छ । लोकतन्त्र दलको शासन एवम दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको छ । एसईईको नतिजा आयो । त्यसबाट के थाहा हुन्छ भने नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो । एसईईको नतिजाले त्यो पुष्टि गरेको छ । यता, स्वास्थ्य सेवामा माफियाहरुको बिगबिगी छ ।’

उनले संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको अवस्थामा व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘अहिले मुलुक जटिल अवस्थामा छ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएका छौं । त्यसमा कमरेड माधवजी र यहाँको पार्टीको ठूलो योगदान छ । जुन बेलामा संसदलाई असंवैधानिक तरिकाले दुईदुई पटक भंग गरेर मुलुकलाई स्वेच्छाचारी शासनतर्फ धकेलिँदै गरेको थियो ।

त्यो बेलामा लोकतन्त्र रक्षा गर्नको लागि प्राप्त अधिकारलाई जोगाउनको लागि उपलब्धीहरुलाई संस्थागत गर्नका लागि आवश्यक थियो । त्यो आवश्यकता परेको बेलामा यहाँहरुले विद्रोह गर्नुभयो र आज संघीय गणतन्त्रको रक्षाको महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।’ त्यस्तै यादवले हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?