विषादी राखी पकाएको ५ हजार ७ सय ८० किलो आँप खाद्यद्वारा नष्ट

लोकपथ
23.4k
Shares

कञ्चनपुर । प्रतिबन्धित रसायन (कार्बाइड) राखी पकाइएको ५ हजार ७ सय ८० किलोग्रामको आँप नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धनगढी कार्यालयले उक्त परिमाणको विषादीयुक्त आँप नष्ट गरेको हो ।


कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ४ मा विषादीयुक्त आँप विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धनगढी कार्यालयबाट खटिएको खाद्य अनुसन्धानको टोलीले उक्त परिमाणको विषादीयुक्त आँप नष्ट गरेको हो ।


भिमदत्त नगरपालिका वडा नम्बर ४ को गल्ली नम्बर ३ मा रहेको बालाजी फ्रुट सेन्टरको फलफुल गोदाममा कार्बाइड राखेर आँप पकाइएको पाइएपछि अनुगमन टोलीले नियन्त्रणमा लिई नष्ट गराएको हो ।


अनुगमन टोलीले गत असार १३ गते फ्रुट सेन्टरको गोदाममा रहेको २० किलोग्राम भएको कार्टुनको २८९ कार्टुन आँपमा कैफियत पाएको थियो । भारत लगायतका स्थानबाट काँचो आँप ल्याएर पत्रिकामा प्रतिबन्धित रसायन कार्बाइड बेरेर क्रेटमा राखेको पाइएको थियो । कार्बाइड जस्तै देखिने प्रतिबन्धित रसायन प्रयोग भएको पाइएपछि विभागको धनगढीस्थित कार्यालयले असार १३ गते नै उक्त गोदाम स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा सिल गरेको थियो ।

त्यसलगत्तै भएको ल्याब टेष्टपछि उक्त धूलो वा पाउडर कार्बाइड भएको पुष्टि भई आँप खान अयोग्य भएको पाइएपछि कुल २८९ कार्टुनको ५ हजार ७ सय ८० किलोग्राम बराबरको आँप स्थानीय प्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, उपभोक्ता आदिको रोहबरमा आइतबार नष्ट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?