बेलायतमा धुमधामका साथ मनाइयो ‘साकेला उँभौली धिरिनाम’

काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान चाड ‘साकेला उँभौली धिरिनाम’ किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धुमधामका साथ मनाएको छ ।

आइतबार भएको सो कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले कार्यक्रमको अध्यक्षता गरेका थिए भने किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पुमा, बान्तवालगायतका विभिन्न भाषिक व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासचिव राजेन रामजङ राईले गरेका थिए ।

वर्षेनी पितृ, प्रकृति र हुईलुङ पूजा गर्दै विभिन्न प्रकारको सिल्ली टिप्दै बडो गर्वको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पूर्ण बैतुङ दाजुभाइ, दिदी बहिनी, छोरीचेली, ज्वाईं चेलाहरुलगायत सबै पाछाको पाछागत उपस्थिति रहेको थियो ।

प्राचीन सिलीहरूको जगेर्ना गर्दै जानका लागि मछामा (साय) सिली, पारूहॉङ (खुट्टे) सिली, नाइमा (हाते) सिली, खासिमा –झिंगा) सिली , वापा/वामा (भाले/पोथी) सिली, तावा (मयुर) सिली, कावा (गंगटा) सिली, काछुपा (बॉदर) सिली, बेसारा सिली, सिकी/सिप (तान बुन्ने) सिली, चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर व्यवहारिकरुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?