खनालको नेतृत्वमा अध्यक्ष मण्डल, मतदान विद्युतीय मेसिनबाट

भुसाल अध्यक्षमा उठे राजेन्द्र राईले पनि चुनौती दिने

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । छिटो र छरितो ढंगबाट चुनाव गराउन ई–भोटिङको व्यवस्था गरिएको सो पार्टीले जनाएको छ ।

महाधिवेशन सम्पन्न गर्न एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी, नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने छ । महाधिवेशनले २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  । हिजोबाट जारी महाधिवेशन २० गते सकिनेछ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूले बताउँदै आएका छन् । तर, नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने नहुने निश्चित भइसकेको छैन । अध्यक्षका लागि माधवकुमार नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी छन् । तर खनालले अन्तिममा भुसाललाई सहयोग गर्ने सम्भावना छ ।

सो पार्टीका केन्द्रीय सचिव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पनि अध्यक्ष लड्ने संकेत गरेका छन् । ‘क्रान्तिकारी पार्टी निर्माण, हाम्रो भावना– विद्रोही नेतृत्वको अनुमोदन हाम्रो चाहना’ नारा लिएर उनको प्रचारसमेत सुरू गरिएको छ । महासचिव घनश्याम भुसालले अध्यक्षमा लड्ने तयारी गरिरहँदा राईले पनि आफू नेतृत्वका लागि भिड्ने घोषणा गरेका हुन् । माधवकुमार नेपालबाहेक नेतृत्वमा कसैलाई स्वीकार नगर्ने उनको भनाइ छ ।

‘माधव नेपालको नेतृत्व स्वीकार गरेर नजाने हो भने तल हैन ठूलै पदमा मेरो दाबी हुन्छ । विद्रोही नेतृत्वको अनुमोदन यो महाधिवेशनबाट होस् भन्ने मेरो चाहना हो,’ उनले भनेका छन् ।उनले सर्वसम्मत हुँदा आफू पनि सहमतिमा आउन तयार रहेको बताए । घनश्याम लक्षित गर्दै उनीनिकटकाहरूले विद्रोहको बेला खुट्टा कमाएर पछि पार्टीमा जोडिएको मान्छेले अहिले नेतृत्वका लागि दाबी गरिरहन नमिल्ने बताउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?