ब्रेकसु र इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डैै ३२ क्विन्टल सुन तस्करी, यस्ता छन् अनुसन्धानमा खुलेका थप तथ्यहरु

लोकपथ
845
Shares

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्यहरू फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार पत्रकार सम्मेलन गरी यस प्रकरणमा थप २० जना पक्राउ परेकोमा २ जना चिनियाँ नागरिक रहेको जानकारी दिएको छ । सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् ।

ब्रेकसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकबाट ६० किलो सुन बरामद भएपछि सीआईबीले थप अनुसन्धान अघि बढाएको थियो । सीआईबीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ किलो सुन तस्करी भएको पाइएको हो । सीआईबीले ३६२.७७८ किलो ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ किलो सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको जनाएको छ । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।

पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी
यस्तै, भुक्तानी साधन पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ अर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो समय लगाएर दुई भुक्तानी साधन ‘वालेट’ माथि गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरेको भेटिएको सीआईबीले जनाएको छ ।

अनामनगरमा केन्द्रीय कार्यालय रहेको पेवेल नेपालले स्थापना कालदेखि हालसम्म पटक पटक गरी कूल १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ । जसका आधारमा अनुसन्धान गर्दा कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

सीआईबीले प्रतिवादी राजु खत्री, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सिद्धार्थ अशोक गाएकवाड लगायतलाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ ।यसैगरी बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्टले पनि पटक पटक गरी अर्ब रुपैयाँ सुन तस्करीको भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको सीआईबीले जनाएको छ । दुई नम्बरी कारोबारमा संलग्न देखिएपछि अनुसन्धान थालेको सीआईबीले यी दुई कम्पनीको बैंक खाता रोक्का गर्न नियामक केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ लाई पत्राचार गरेको थियो ।

२०८० जेठ २ गते सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिएको जानकारी दिएको थियो । यी दुई भुक्तानीका साधनमार्फत भइरहेको भुक्तानी कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको ब्यहोरा राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जनाएको छ । ती डमी कम्पनी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेको प्रहरीले जनाएको छ ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशाख केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरूमध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी ३ हजार १९४.६६८ किलो अवैध सुन चोरी पैठारी गरेको देखिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार, यसको मूल्य अहिलेको अवस्थामा करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुन आउँछ ।


सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत १३०३.९६५ किलो, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२.७१५ किलो, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६.८३ किलो, दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ किलो र रेडी ट्रेड प्रालीमार्फत ७.५ किलो सुन तस्करी भएको पाइएको छ । ब्रेक सुमार्फत यसअघि ३६२.७७८ किलो सुन तस्करी भएको दाबी गरिएको थियो । सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?