पर्यटन प्रवर्द्धनका लागि मन्थली नगरपालिकाले योजना बनाउने

लोकपथ
0
Shares

रामेछाप । मन्थली नगरपालिकाले पर्यटन प्रवर्द्धनको लागि वृहत् योजना बनाएर काम गर्ने भएको छ । पर्वतारोहणको सिजनमा ठुलो संख्यामा मन्थली विमानस्थल हुँदै पर्यटकहरू काठमाडौं र सोलु आवागमन गरिरहेका सन्दर्भमा ती लगायत अन्य पर्यटकलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ र उनीहरूबाट नगरपालिका र जिल्लाले लाभ लिन सक्छ भन्ने योजना बनाउन नगरपालिकाले वृहत् छलफल सुरु गरेको छ ।

स्थानीय सामुदायिक विकास केन्द्र नामक संस्थासँगको साझेदारीमा नगरपालिकाले मन्थली र समग्र रामेछापमा पर्यटनको सम्भावना र सरोकारवाला निकायले निर्वाह गर्न सक्ने भूमिकाको विषयमा सोमबार मन्थलीमा छलफल गरेको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा संस्थाको तर्फबाट सागरहरि अधिकारीले हालसम्म पहिचान गरिएका सम्भावित पर्यटकीय क्षेत्र र सम्भावनाको बारेमा जानकारी गराए ।

ती क्षेत्रको विकास र प्रवर्द्धनको लागि काठमाडौंमा सरोकारवालाको सहभागितामा वृहत् अन्तरक्रिया आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रमुख श्रेष्ठले हाल अस्थायी रूपमा सञ्चालन भइरहेको मन्थली–लुक्ला उडानलाई स्थायी रूपमा सञ्चालन गर्ने, मन्थली–काठमाडौं उडानलाई नियमित गर्ने तथा मन्थली आउने पर्यटकलाई मन्थली र रामेछाप जिल्लाले सेवा दिन सक्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

सरोकारवाला मन्थलीमा नै आएर छलफल गर्न असमर्थ भएकाले काठमाडौंमा कार्यक्रम गर्न लागिएको उनले बताए । सो कार्यक्रममा कुन क्षेत्रले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्न प्रतिबद्धता लिन पनि खोजिएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?