यति एयरलाइन्सविरुद्ध ८० करोड २५ लाख क्षतिपूर्ति मागदाबी लिई अदालतमा मुद्दा दायर

काठमाडौं । यति एयरलाइन्सविरुद्ध ८० करोड २५ लाख क्षतिपूर्तिको मागदाबी लिई अदालतमा मुद्दा दायर भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा यति एयरलाइन्सलाई विपक्षी बनाएर मुद्दा दायर भएको हो ।


गत वर्षको माघ १ गते पोखरामा भएको यति एयरलाइन्समा सवार रही मृत्यु भएका सुशील श्रेष्ठको तर्फबाट उनको परिवारले दुष्कृतिको मुद्दा दायर गरेका हुन् ।


सोमबार काठमाडौं जिल्ला अदालतमा मृतक सुशील श्रेष्ठका बुवा मदनकाजी श्रेष्ठ र आमा भिममाया श्रेष्ठले यति एयरलाइन्सविरुद्ध ठुलो क्षतिपूर्तिको मागदाबी लिई मुद्दा दायर गरेका हुन् ।


काठमाडौं जिल्ला अदालत श्रोतका अनुसार सोमबार दर्ता भएको मुद्दामा पीडित परिवारले ८० करोड, २५ लाख ४० हजार २२१ रुपैयाँ ४८ पैसा क्षतिपूर्तिको मागदाबी लिएका छन् ।


यति एयरलाइन्स र त्यसका कर्मचारीको लापरबाहीका कारण परिवारका सदस्यले ज्यान गुमाउनु परेको भन्दै यति ठुलो रकम क्षतिपूर्ति मागदाबी लिई मुद्दा दायर भएको हो ।


आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिको मागदाबी लिई मुद्दा दायर गरेको यो सम्भवतः पहिलो पटक हो ।


काठमाडौंको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान २०७९ माघ १ गते सोतीनदीको खोँचमा दुर्घटनामा परेको थियो ।


विमानमा ५३ जना नेपाली यात्रु, चालकदलका चारजना नेपाली सदस्य र १५ जना विदेशी यात्रु सवार रहेका थिए । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा ५ जना भारतीय, ४ जना रुसी, २ जना कोरियाली र अर्जेन्टिना, अस्ट्रेलिया, आयरल्याण्ड र फ्रान्सेका एक एक यात्रुको निधन भएको थियो ।


दुर्घटनापछि गरिएको छानबिन र अनुसन्धानमा चालकदलका सदस्यको कमजोरीको कारण विमान दुर्घटना भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।


विमान कम्पनी र चालकदलका सदस्यका कमजोरीका कारण विमान दुर्घटना भएको भन्दै मृतक सुशील श्रेष्ठ तथा उनकी श्रीमती डा. सोना दिवारक तर्फबाट उनकी बुबा र आमाले मुद्दा दायर गरेका हुन् ।


दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी पत्नी सोना दिवारक र १० महिने नाबालकको समेत मृत्यु भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका डा. सुशील श्रेष्ठ, सोना दिवाकर र बालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?