प्रचण्डका अब दुई बाटो : राजीनामा दिने कि विश्वासको मततर्फ जाने

लोकपथ
11.6k
Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको मुख्य सारथी एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता साझेदारीका लागि सहमति गरेपछि प्रधानमन्त्री दाहालले कुन बाटो लिन्छन् ? सबैको ध्यान त्यसतर्फ केन्द्रित भइरहेको छ । विकसित राजनीतिक घटनाक्रमलाई लिएर दाहालले बोलाएको पार्टी पदाधिकारी बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ र केही समयपछि एउटा निर्णय आउने नै छ ।

एमालेले आजै आफ्ना मन्त्री फिर्ता बोलाउने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि कायम नरहेको घोषणा गर्ने जनाउ दिइसकेको छ । यो अवस्थामा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।यो अवस्थामा प्रधानमन्त्री दाहालसँग दुई विकल्प हुनेछन् । राजीनामा दिने वा विश्वासको मत लिने । राजीनामादिनका लागि उनले कुनै साइत हेरिरहनु पर्दैन । यो। स्वेच्छाको कुरा हो । अर्को कुरा, राजीनामा कुनै संवैधानिक वा कानुनी बाध्यता होइन ।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ । ३० दिनभित्र कुनै पनि दिन उनले विश्वासको मत माग्न सक्छन् । राजीनामानदिएको अवस्थामा अझै एक महिना उनी प्रधानमन्त्रीको कुर्सीमा बस्न सक्छन् ।
एमालेले कांग्रेससँग सत्तायात्राको हात अघि बढाएकाले माओवादी पंक्ति एमालेप्रति आकोशित बनेको छ । यो कुनै नयाँ कुरा पनि भएन । तर, राजीनामा नदिएर प्रधानमन्त्री दाहाल र उनको पार्टीले ३० दिनभित्र मज्जाले खेल्न सक्छ ।

यत्रो दिनमा आफ्ना पक्षमा वातावरण बनाउन सकिन्छ भन्ने लागेमा प्रधानमन्त्रीका प्रयास त्यसतर्फ पनि केन्द्रित हुन सक्छन् । तर, यसका लागि उसले कांग्रेस वा एमालेमध्ये एउटा शक्तिलाई आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ ।त्यसो त माओवादी नेताहरूले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्नुपर्ने तर्क पनि गर्न सक्नेछन् । अहिलेको सरकार उपधारा २ अनुसारको हो । धारा ३ अनुसारको सरकार भनेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो । अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भनेको नेपाली कांग्रेस हो । उपधारा ३ अनुसार सरकार बन्दा संसदीय दलको नेताको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेस र एमालेको समझदारीअनुसार पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भन्ने छ । उपधारा ३ मा लग्न सकिए ओलीलाई जिल्याउन सकिने माओवादीको बुझाइ पनि हुनसक्छ । उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री भएमा आफूले समर्थन गर्ने सक्ने वचन पनि माओवादीले दिन सक्छ ।

तर ओली र देउवा भने उपधारा २ अर्थात् गठबन्धनको सरकारकै लागि प्रक्रिया राष्ट्रपतिले अगाडि बढाउने विश्वासमा छन् । यस विषयमा कुराकानी पनि अघि बढिसकेको छ ।दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका छन् । तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु राजनीतिक रुपमा सत्तालिप्सामात्र देखिने भएकाले प्रचण्डले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?