चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

लोकपथ
2.2k
Shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।

४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए । “खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, उनले भने, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ ।

स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्ट्रेलियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०र८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् । पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो ।

स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उनका छोराहरू खिम पुन र भीम पुनले रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गरे । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?