काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यराति भएको सहमतिमा सहमत हुने दलहरुलाई अब बन्ने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी गराइने भएको छ । कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका एमाले महासचिव शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सो जानकारी गराएका हुन् ।
पोखरेलले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’
कांग्रेससँगको सहमतिका लागि एमाले अध्यक्ष ओलीले महासचिव पोखरेललाई परिचालन गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमालेसँगको सहमतिका लागि रमेश लेखकलाई परिचालन गरेका थिए । हिजो सोमबार दिउँसो पुल्चोकस्थित भिभान्त होटलमा उनीहरुले सहमतिको ड्राफ्ट तयार पारेका थिए । राति सवा १२ बजे काठमाडौैंको चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा देउवा र ओलीले हस्ताक्षर गरेका थिए ।
यद्यपि, सहमतिपत्र भने सार्वजनिक गरिएको छैन । सहमतिअनुसार, पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।
राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ । सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया