सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न

लोकपथ
7.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हिजो साेमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् पीडितहरुको सहयोग लगायत विविध जनचेतनामुलक कार्यक्रमहरुमा देखाएको अग्रसरताको मुक्तकण्ठले प्रशंसा गरिन् ।

उनले सामाजिक सेवाका कार्यहरु कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने बताउदै यस्ता कार्यमा सबै मिलेर हातेमालो गरी अगाडी बढ्न जरुरी रहेको बताइन् ।

त्यस्तै निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, निजामती कर्मचारी श्रीमती संघकी उपाध्यक्ष श्रीमती राधा ज्ञावलीलगायत तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, विभिन्न संघसंस्था तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?