सुन तस्करीको थप मुद्दा अदालतमा, प्रतिवादीको सङ्ख्या ६० पुग्यो

८ वटा कसुरमा मुद्दा, ३० अर्ब ८४ करोडको बिगो मागदाबी

काठमाडाैं । सुन तस्करीसम्बन्धी थप मुद्दा अदालतमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा बुझाएको हो ।

अवैध सुन तस्करीको ओसारपसार र कारोबारमा संलग्न नयाँ ४६ जना र पुरानोसहित गरी कुल ६० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्न मिसिलसहितको फाइल बुझाएको हो । काठमाडौं जिल्ला अदालतमा सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार कुल ५०१ पृष्ठ लामो मुद्दा आएको छ र अहिले रुजुको क्रममा रहेको छ ।

बास्कोटाका अनुसार कुल ३० अर्ब ८४ करोड १ लाख २६ हजार ४४० रुपैयाँ ९० पैसाको बिगो मागदाबी लिइएको छ । यस प्रकरणमा सिआइबीले १९ जनालाई पक्राउ गरी बुझाएको छ । नयाँ मुद्दासमेत दर्ता भएपछि अवैध सुन प्रकरणमा प्रतिवादीको कुल सङ्ख्या ६० पुगेको छ ।

सूचना अधिकारी बास्कोटाका अनुसार सिआइबीको प्रतिवेदनका आधारमा सरकारी वकिलले सुन तस्करी प्रकरणमा ८ फरकफरक कसुरमा मुद्दा दर्ता गराएको हो । सुन तस्करीमा संलग्नविरुद्ध अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्स्यौट ऐन, नागरिकता किर्ते र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

चिनियाँ नागरिक दाओजिन वाङ प्रमुख आयातकर्ता रही नेपालमा सुनको तस्करी हुने गरेको सिआइबीको निष्कर्ष छ । दावाको समूहले घरायसी उपकरण, वर्कसप, औद्योगिक तथा कन्सर्टहरूमा प्रयोग हुने विभिन्न प्रकारको विद्युतीय उपकरणहरूमा विदेशबाट सुन तस्करी गरी ल्याउने गरेको सिआइबीको निष्कर्ष छ । वाङको समूहले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, हाउडा इलेक्ट्रिक सप्लायर्स प्रालि, छुंगक इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि र रेडी ट्रेड प्रालिका नामबाट विभिन्न विद्युतीय उपकरणभित्र लुकाइछिपाई सुन ल्याउने गरेको पाइएको हो । यो समूहले कुल ३ हजार १ सय ९४ किलो ६६८ ग्राम सुन अवैधरुपमा लुकाइछिपाई गरी नेपाल ल्याएर विक्री गरेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?