लामिछाने–ढकाल अन्तर्विरोध थप चर्कियो, लामिछानेले प्रस्ताव पनि पढ्न दिएनन् (पूर्णपाठ)

लोकपथ
4.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र महामन्त्री डा. मुकुल ढकालबीच अन्तरविरोध थप चर्किएर गएको छ ।

अध्यक्ष लामिछानेले गत शुक्रबार अनुशासन समितिलाई महामन्त्री ढकाललाई स्पष्टीकरण सोध्न लगाएकोमा आज बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा ढकालले आफैले तयार पारेको प्रतिवेदनसम्बन्धी प्रस्ताव पनि पढ्न पाएनन् ।

रास्वपा सचिवालयको मंगलबार बसेको बैठकले महामन्त्री ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो । तर, बुधबार बिहानबाट सुरू भएको बैठकमा पार्टी सभापति लामिछानेले सचिवालयको निर्णयविपरीत ढकाललाई प्रस्ताव पेस गर्नै दिएनन् ।
‘प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने निर्णय भएको थियो, त्यही आधारमा मैले लिखित प्रस्ताव तयार पारेको थिएँ,’ ढकालले भने, ‘तर आजको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव पेस गर्ने अनुमति सभापतिले दिनु भएन, प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण गर्न केही दिनअघि नै प्रस्ताव गरेका थिए । तर सभापति लामिछानेले सुनुवाइ नगरेको भन्दै उनी बैठकमा मुखमा टेप लगाएर प्रस्तुत भएका थिए ।

‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन् ।

‘बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागि सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले यसअघि भनेका थिए । यद्यपि, बैठक लाइभ गर्ने÷नगर्ने सम्बन्धमा सभापति लामिछानेले कुनै जवाफ दिएका थिएनन् ।

इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि समीक्षा यात्रामा निस्किएका ढकालले गत बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए । सभापति लामिछानेलाई प्रतिवेदन बुझाएको दुई दिनपछि गत शुक्रबार महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले स्पष्टीकरणसमेत सोधेको थियो छ । यद्यपि, उनले आफूलाई सभापतिले बाहेक कसैले पनि स्पष्टीकरण सोध्न नमिल्ने जिकिर गर्दै आएका छन् ।

प्रतिवेदनमा उनले पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका छन् । साथै पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष पनि उनले निकालेका छन् ।

‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो, उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकालदर्शनको शक्ति प्राप्त थियो । त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए, त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे,’ महाभारतको एउटा सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन् ।
उनले अहिले रास्वपासँग जनमत नभएको पनि उल्लेख गरेका छन् । यही जनमतका आधारमा राष्ट्रिय पार्टी बन्न हम्मे हुने उनको निचोड छ ।

‘पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला । भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु, र श्रीकृष्णको वचनलाई सधैं टेरेको छु । यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन् । तर पार्टीलाई जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले, मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ उनले भनेका छन् ।

यसरी दुर्घटना हुँदैछ भन्दा महामन्त्रीबाट हटाइनसक्ने पनि विवेचना गरेका छन् । ‘श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुनसक्छ, अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागी यो घातक सावित हुनेछ तथापि यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुञ्जियो– म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस्,’ उनले भनेका छन् ।

महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए । त्यसक्रममा २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरेका थिए । ८० किलोमिटर पैदल यात्रा र ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे यात्रा समीक्षा गरेको उनले बताएका छन् ।

प्रतिवेदनमा उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको उल्लेख गरेका छन् । महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ ।

‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो, बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन् र उनी स्थानीय तहका प्रमुख हुन् । उनको विचारमा या गैरराजनीतिक पद हो,’ महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ ।

मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन् भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन् । राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ ।

‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन्, २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय त गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन् । २०८९ चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना छ,’ महामन्त्री ढकालको भनाइ छ ।

मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनी बताउँछन् । त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ । ‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौं कि छैनौं पनि महत्त्वपूर्ण छ। अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खान्छ,’ उनले भनेका छन् ।

पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा पार्टीले बिर्सिएको सन्दर्भ पनि उल्लेख गरेका छन् । रास्वपाले पनि सानादेखि ठूलासम्म ठाउँमा कता न कता राजनीति सुरू गरिसकेको बताएका छन् ।‘हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तह गैरदलीय बनाउने र स्वतन्त्र पार्टी पनि स्थानीय तह चुनावमा भाग नलिने हिम्मतसहितको निर्णय गर्न सके बालेनसँगको सहकार्य त्यति पर छैन,’ उनले भने ।

मेयर बालेनले उठाउँदै आएको बागमतीलगायत नदी किनारका अनधिकृत बस्ती हटाउने विषय सरकारमा भएकाबेला सहयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?