वर्षायाममा बच्चाहरुलाई सुरक्षित राख्ने तरिका

लोकपथ
546
Shares

काठमाडौं । वर्षायाममा वरपरका खाली ठाउँहरु पानीले भरिन्छन् भने वातावरणमा आर्द्रता पनि बढ्छ । जसका कारण लामखुट्टे र अन्य कीटाणुहरू पनि बढ्छन् । यसले बालबालिकालाई असुरक्षित बनाउँछ । बालबालिका खुल्ला ठाउँमा खेल्न मन पराउँछन् । यसले गर्दा उनीहरु वर्षायाममा भिज्छन् । यी सबै कारणले बालबालिकामा संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा छालामा संक्रमण र मनसुन इनफेक्सनहरु जस्तै निमोनिया, रुघाखोकी, छातीमा संक्रमणलगायतका समस्याहरु देखिन थाल्छन् । यस्ता समस्याबाट बच्न वर्षायाममा बालबालिकाको विशेष ख्याल राख्नुपर्छ । आज हामी मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने भन्ने केही उपायहरुका बारे जानकारी दिनेछौँ ।

हात धुने बानी गर्ने

कीटाणुहरू फैलिनबाट रोक्न हातको सरसफाइ गर्नु निकै महत्तत्वपूर्ण हुन्छ । बालबालिकाले खेल्दा र हाम फाल्दा विभिन्न ठाउँमा छुन्छन्, जसका कारण सबै कीटाणुहरू हातमा टाँसिन्छन् र उनीहरू बिरामी हुन सक्छन् । त्यसैले लआफ्ना बच्चाहरुलाई नियमित रुपमा साबुन र पानीले राम्ररी हात धुन सिकाउनुहोस् । विशेषगरी खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र बाहिर खेलेर आएपछि । यति मात्र होइन, यदि बच्चाले धुलो भएको कुनै पनि वस्तु छोएको छ भने पनि हात सफासँग धुन लगाउनुपर्छ । साबुन पानी उपलब्ध नभएको ठाँउमा सेनिटाइजरको भए पनि प्रयोग गर्नुपर्छ ।

प्रतिरक्षा बढाउने

सन्तुलित पोषक तत्वले भरिपूर्ण आहारको माध्यमबाट पनि आफ्नो बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । संक्रमणसँग लड्न शरीरलाई आवश्यक भिटामिन र खनिजहरु चाहिन्छ, जसलाई पूरा गर्न फलफूल, तरकारी र सम्पूर्ण अन्नलाई आहारमा समावेश गर्न सकिन्छ । यति मात्र नभएर बच्चालाई पर्याप्त मात्रामा निदाउन पनि दिनुपर्छ, किनभने थकानले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । बलियो प्रतिरक्षा क्षमताले शरीरलाई सबै प्रकारका संक्रमण र रोगहरुसँग लड्न तयार गर्छ ।

शारीरिक गतिविधिहरुमा भाग लिन लगाउने

सम्पूर्ण स्वास्थ्य र शरीरको लचकता कायम राख्न नियमित व्यायाम गर्नु आवश्यक हुन्छ । आफ्नो बच्चालाई उमेर अनुसार शारीरिक क्रियाकलापमा समावेश गर्न दिनुपर्छ, जस्तैः बाहिरी खेलकुद, नृत्य, योग, पौडी खेल्ने आदि । यसले बच्चाहरु सक्रिय रहिरहनुका साथै उनीहरूको शरीर बलियो बनाउन पनि मद्दत गर्छ ।

संक्रमित भएमा बढी ध्यान दिने

यदि बच्चा बिरामी भएमा बढी ध्यान राख्नु आवश्यक हुन्छ । संक्रमण फैलिनबाट रोक्नको लागि उपयुक्त कदम चाल्नु पर्छ । बच्चाहरुलाई निको नभएसम्म स्कुल वा डे–केयरमा पठाउनु हुँदैन । घरमा नै राखेर आराम गराउनु पर्छ । परिवारका अन्य मानिसहरुको सम्पर्कबाट टाढा राख्नु पर्छ । नियमित आराम गराउने, पानी पिलाउने र आवश्यक परेमा डाक्टरको सल्लाह लिनु पर्छ ।

तातो सुख्खा राख्ने

आर्द्रताले संक्रमणको सम्भावना बढाउँछ । त्यसैले बालबालिकालाई बाहिर निस्कँदा रेनकोट र छाता बोक्न लगाउने । यदि बच्चा भिजेको छ भने सफा र सुख्खा लुगा लगाइदिनु पर्छ ।

पखाला रोक्न

वर्षा र बाढीका कारण खानेपानी दूषित हुन्छ । फोहोर पानीको सेवनले झाडापखालाको संक्रमणको जोखिम बढाउँछ । सधैँ फिल्टर गरिएको रिभर्स ओस्मोसिस पानीको प्रयोग गर्ने वा उमालेर चिसो भएको पानीको प्रयोग गर्नु पर्छ । झाडापखालाबाट बच्नका लागि बारम्बार हात धुनु पर्छ । बाहिरको खानेकुरा खानु हुँदैन र बालबालिकालाई घरमा नै पकाएको ताजा खाना खुवाउनु पर्छ ।

सरसफाइमा विशेष ध्यान

वर्षाको समयमा जमेको पानी, बाढी, माटो र फोहोर भुईँहरू सफा गर्न निकै गाह्रो हुन्छ । यसले संक्रमणलाई बढाउने गर्छ । त्यसैले वर्षाको समयमा कम्तीमा दुई पटक भुईँ सफा गर्नुपर्छ । भु्ँई सफा गर्दा पानीमा फ्लोर क्लिनर वा डिटोल हालेर सफा गर्नुपर्छ । बच्चाहरुलाई सधैँ सफा मोजा, लुगा र जुत्ता लगाइ दिर्नुपर्छ । कम्तीमा पनि हप्ताको एक पटक बच्चाको खेलौनाहरू सफा गर्ने गर्नुपर्छ ।

समयमा नै बच्चाको डाइपर परिवर्तन गरिदिन

मनसुनमा बारम्बार पिसाब लाग्नु सामान्य कुरा हो । यदि साना बच्चाहरु छन् भने ओसिलो र फंगल इन्फेक्सनबाट बचाउन निकै जरुरी हुन्छ । लामो समयसम्म एउटै डाइपर लगाइदिँदा यसले नमी कायम राख्छ र बच्चा संक्रमित हुन सक्छ । त्यसैले धेरै पटक डाइपर परिवर्तन गर्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?