तस्करीको सुन किनबेच गर्ने मुख्य व्यक्ति थिए भारतीय नागरिक अभिजित तानाजी

कम्तीमा ५० करोडको कारोबार एकै व्यक्तिले गरेको खुलासा

काठमाडाैं । तस्करी भएको भनिएको ३ हजार १९४ किलो सुन प्रकरणमा पक्राउ परेका भारतीय नागरिक सिद्धार्थ अशोक गायकवाडले अवैध सुनको तस्करीमा पेवेल र सजिलो पे कम्पनीको समेत संलग्नता रहेको खुलाएपछि ती संस्थाहरूमाथि अनुसन्धान भएको पाइएको छ । सिआइबीमा गायकवाडले दिएको बयानमा दुई पेमेण्ट गेटवे कम्पनीबाट क्रिप्टोकरेन्सी (युएसडीटी)को कारोबार भएको र त्यसमा यी दुई कम्पनीको संलग्नता रहेको खुलासा गरेका हुन् ।


भारतको महाराष्ट्र जिल्लाको सांगली जततालु स्थायी ठेगाना भई कामनपा वडा नम्बर २२ सङ्कटा मन्दिर नजिकै बस्ने २० वर्षीय सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड पक्राउ परेलगत्तै सुन तस्करी प्रकरणको थप पाटो उजागर भएको थियो ।


आफ्ना भिनाजु नाता पर्ने अभिजित तानाजी मुलिकको रिफाइनरी उद्योगमा काम गर्ने र अवैध सुनको कारोबार गर्ने गायकवाडले सुन तस्करी र कारोबारमा कस कसको कस्तो संलग्नता थियो भनेर सिआइबीलाई विस्तृत बयान दिएका छन् ।


सिद्धार्थको बयानमा अवैध बाटोबाट तस्करी भई आएका सुन रिफाइन गरी बेच्ने कार्यमा मुख्यतः आफ्नै भिनाजु पिन्टु भन्ने अभिजित तानाजी मुलिकको संलग्नता रहेको बयान दिएका छन् । त्यसबाहेक उनले पेवेल, सजिलो पे, न्युरोड क्षेत्रका सुन व्यवसायी, चितवनको मुग्लिङमा समेत तस्करीको सुन पुराएको बयान दिएका छन् ।

गायकवाडको मोबाइलमा फेला परेको ब्रेकप्याड आकारको सुनको तस्वीर


अवैध सुनको कारोबारमा क्रिप्टोकरेन्सीको प्रयोग हुने गरेको र सुन लिन आउने मान्छेहरूले ५ वा १० रुपैयाँको नोट लिएर आउने गरेको र त्यसमा भएको नम्बर म्याचिङ गराएर पैसा वा सुन दिने गरेको बयान दिएका छन् ।

सिद्धार्थ अशोक गायकवाड


त्यस्तै करिब ५० करोड रुपैयाँको अवैध सुनको कारोबार भएको र ४० करोडजति रकम क्रिप्टोकरेन्सीका लागि नगदै दिएको सिद्धार्थको बयानमा उल्लेख छ ।


यस्तो छ सिआइबीको हिरातसतमा रहेका गायकवाडको बयानको केही अंश
– बरामद भई आएका सुनका गरगहना तथा सुनका टुक्राहरू र नेपाली रुपैयाँ १ करोड २३ लाख अवैध सुन कारोबार गरे बापत प्राप्त भई भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले भारत घर जाने क्रममा मलाई दिई जानु भएको हो । मेरो भिनाजु सञ्चालक रहेको श्री जागेश्वरी ज्वेलर्सको नामबाट सुन रिफाइनरी पसल सञ्चालन गर्दै आईरहेका थियौँ । मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिक कामको सिलसिलामा प्रायः भारतमा नै बस्ने गरेको हुँदा नेपालमा रहेको सुन रिफाइन गर्ने पसल मैले भिनाजुले फोन मार्फत भने बमोजिमको काम गर्दै आएको थिएँ । उक्त सुन रिफाइन गर्ने पसलमा म सहित मसँगै पक्राउ परेका अर्का प्रतिवादी धिरज दिनेश भोईटे काम गर्दथ्यौँ । भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले भने बमोजिमको मानिसहरूबाट बिना बिलको सुनहरू रिसिभ गर्ने, उक्त सुनहरू भने बमोजिमका मानिसहरूलाई दिने र सुन लिन आउने मानिसहरूले दिएको रकम दिने समेतका काम गर्दथे ।


– मलाई भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकले ह्वाट्सएप मार्फत ‘सुन दिनलाई मान्छे पसलमा आउँदै छ उक्त सुन रिसिभ गरी मलाई फोन गर’ भने पश्चात मैले उक्त सुन लिएर आएको मानिसबाट सुनको तौल गरी यकिन गरी सुन राखी भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकलाई सुन रिसिभ भएको जानकारी गराउने र निज भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकले सुन लिनलाई मान्छे आउँदै छ भनेपछि सुन लिन आउने मानिसको मोबाइल नम्बरबाट भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकलाई फोन सम्पर्क गरी यकिन गरी निजलाई सुन दिई पठाउँथे साथै निजहरूसँग पैसा लिई राख्ने गरेको थिए । उक्त पैसा पसलमा राख्ने र पुनः भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकले पैसा लिनलाई मान्छे आउँदै छ निजले तिमीलाई रु. ५ वा रु.१० को नोट देखाउँछ उक्त पैसा हेरी निजलाई पैसा दिनु भनेपश्चात मैले उक्त मानिसले लिएर आएको पैसा हेरी निजलाई पैसा दिने गरेको थिएँ । मैले काम गरेदेखि हालसम्म उक्त पसलमा एकपटकमा १ तोला देखि २ केजीसम्मको अवैध सुनको पटक पटक कारोबार भएको थियो । जम्मा के कति सुन ल्याए मलाई यकिन थाहा भएन । सुन लिन आउने व्यक्तिहरूले मलाई दिएको नगद पैसा भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजि मुलिकले भने बमोजिमका मानिसहरूलाई कहिले म आफैँ र कहिले धिरज दिनेश भोइटेमार्फत पठाउने गरेको थियौँ ।


– मैले प्रयोग गर्ने नेपाली सिम कार्डहरू मध्ये ९७०६६०२XXX नम्बरको सिमकार्ड अवैध सुन कारोबारमा प्रयोग गर्ने गरेको थिएँ । मलाई मेरा भिनाजु नाताका एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले मैले भने बमोजिमका मानिसहरूलाई नगद पैसा दिनु भनी भारतस्थित घरमा गएकोमा निजले मलाई ह्वाट्सएप मार्फत पैसा लिन आउने मानिसहरूको हुलिया विवरण र नेपाली रुपैयाँ ५, १० को टोकन नोटको नम्बर पठाउने गरेका थिए भने सोही विवरण अनुसारका मानिसहरूलाई मैले तोकिएको ठाँउमा गई भेटी निजले ल्याएको नेपाली रुपैयाँ ५, १० को नोटको नम्बर यकिन गरी पैसा दिने गरेको थिए । प्रायः मैले नेपाली रुपैयाँ १० लाख, २० लाख परिमाणमा पैसा लिई गई निजहरूलाई दिने गरेको थिएँ । उक्त सम्पूर्ण पैसा अवैध सुन खरिद बिक्रीको हो भनी मलाई थाहा थियो । तर उक्त खरिद बिक्रीमा सम्पूर्ण कारोबार मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले भने बमोजिम मैले गर्दै आईरहेको थिएँ । मैले ह्वाट्सएप मा श्रीराम नाम राखी मोबाइल नम्बर ९७०६६०२XXX बाट र ह्वाट्सएप मा सिद्धनाथ गायकवाड नाम राखी भारतीय मोबाइल नम्बर +९१९१७५११XXX बाट तीन वर्षदेखि ह्वाट्सएप चलाउँदै आएको छु । अवैध सुन कारोबारमा श्रीराम नाम राखी मोबाइल नम्बर +९७७९७०६६०२XXX बाट चलाएको ह्वाट्सएप प्रयोग गर्ने गरेको छु ।


– म नेपालमा आएदेखि नै भिनाजुले बिना बिलको सुन खरिद बिक्री गर्नु हुन्थ्यो । भिनाजुले मलाई १ वर्ष अघिबाट पैसाको झोला दिई प्रायः न्युरोड एरियामा जाऊ यस्तो हुलिया भएको मान्छे आउँछ, निजलाई पैसा दिई आऊ भनी पठाउने गर्नुहुन्थ्यो र मैले भिनाजुले भने बमोजिमका मानिसहरूलाई पैसा दिने गर्दथे । भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले गत वर्ष राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको ६० केजी सुनको अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरू समेतलाई पक्राउ गरेपश्चात् तत्काल कारोबार बन्द गरी पसल समेत बन्द गरेका थियौँ । उक्त समयमा प्रायः छापावाला सुन भन्दा पनि गाले पगालेर बिस्कुट आकार दिइएको अवैध सुनको कारोबार बढी हुने गरेको थियो । त्यसपछि अवैध सुनको कारोबारमा हुने आर्थिक कारोबारका अतिरिक्त अवैध सुन खरिद बिक्रीमा समेत मलाई नै लगाउने गर्नु भएको थियो । भिनाजुले मेरो मोबाइल नम्बर ९७०६६०२XXX बाट श्रीराम नाम राखी ह्वाट्सएप चलाउन लगाई निजले मलाई अवैध सुन तथा पैसाको कुराहरू भन्ने र मैले सम्बन्धित मानिसहरूलाई भन्ने काम गराउने गर्नु भएको थियो । त्यसपछि मैले भिनाजुले भने बमोजिमका मानिसहरूसँग ह्वाट्सएपको माध्यमबाट कुराकानी गर्ने गरेको थिए । मैले अवैध सुन खरिद गरेको सुनको भुक्तानी भिनाजुले भने बमोजिम नगद युएसडीटी परिवर्तन गर्ने व्यक्तिहरूलाई दिने गरेको थिएँ । अवैध रूपमा खरिद गरेको सुन बिक्री गर्नका लागि ह्वाट्सएपमार्फत सुन खरिद गर्ने व्यक्तिहरूसँग कुराकानी गर्दथे । उक्त सुन बिक्री भएपश्चात् आएको पैसा केही रकम नगदै दिने गरेको थिए । उक्त नगद पैसा दिनलाई मसँगै बस्ने धिरज दिनेश भोईटे, पसलको स्टाफ मन्दिरा खड्का र हेल्परको काम गर्ने उषा खत्री समेतलाई पठाउने गरेको थिए । बाँकी युएसडीटी दिने व्यक्तिहरू मिस्टर राइट, राधे राधे र सूर्य नारायणलाई कहिले नगदै पैसा तथा कहिले निजहरूले दिएको बैंक खातामा पैसा डिपोजिट गर्न धिरज दिनेश भोईटे, मन्दिरा खड्का र उषा खत्रीलाई पठाउने गर्दथे भने कहिले म आफैले रकम न्युरोड एरियातिर भेटी नगदै दिने गरेको थिए ।

गायकवाडको कोठाबाट सिआइबीले बरामद नेपाली र भारतीय रुपैयाँ


– मिस्टर राइट, राधे राधे र सूर्य नारायणले पैसा प्राप्त गरेपश्चात् ह्वाट्सएप मार्फत पैसा प्राप्त भएको जानकारी गराई युएसडीटी सम्बन्धित अवैध सुन बिक्री गर्ने व्यक्तिको खातामा पठाई सोको स्क्रिनसट मलाई पठाउने गर्दथे । मलाई अवैध सुन लिई आएका व्यक्तिहरू एसएमएम, राजु भोटे, नरेशले सम्पर्क गरी १ किलो ५०० ग्राम तौलका बिस्कुट आकारको सुन लिनका लागि न्युरोड एरियामा बोलाउने गरेकाले म निजहरूले बोलाएको स्थानमा गई सुन लिई आउने गरेको थिए । उक्त सुन पसलमा ल्याई टुक्रा टुक्रा पारी काटी ह्वाट्सएप मार्फत सम्पर्क गरी एनजे, सन्दीप, केके, एलकेजी अन्य नामहरू याद नभएका व्यक्तिहरूलाई न्युरोडस्थित सडक किनारामा भेटी सुन दिने र निजहरूसँग नगदै पैसा लिने गरेको थिए । उक्त काम भएपछि सम्पूर्ण जानकारी भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकलाई दिने गरेको थिए । सोही क्रममा मलाई प्रहरीले पक्राउ गर्नु ५ दिन अगाडि मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले सोही अवैध सुन कारोबारको पैसा सम्बन्धित युएसडीटी पठाउने व्यक्तिहरूलाई दिनु भनी छोडी देश भारतस्थित आफ्नो घरमा गएको र उक्त पैसा सम्बन्धित व्यक्तिहरूलाई नदिँदै अर्का प्रतिवादी धिरज दिनेश भोईटे र म समेतलाई म बसी सुन रिफाइन तथा अवैध सुन कारोबार गर्ने पसलमा प्रहरी आई म समेतलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याएको हो । मेरो भिनाजु नाताका एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले भने बमोजिम अवैध सुन खरिद बिक्रीमा लागेदेखि मैले २।३ दिनको फरकमा कहिले १ किलो कहिले २ किलोका दरले जम्मा अन्दाजी ५० किलो अवैध सुन खरिद बिक्री गरेको थिएँ भने मलाई अवैध सुन दिने व्यक्तिहरू मध्ये एसएमएमले अन्दाजी २० किलो अवैध सुन र राजु भोटे, नरेशले अन्दाजी १५।१५ किलो अवैध सुन मलाई दिएका थिए । उक्त समयमा मैले खरिद गरेको अन्दाजी ५० किलो अवैध सुन खरिद एनजे, सन्दीप, अन्य नामहरू याद नभएका मानिसहरूलाई बेची आएको पैसा मैले अन्दाजी १०।१५ करोड नेपाली रुपैयाँ नगदै लिएर उक्त पैसा मिस्टर राइट, राधे राधे र सूर्य नारायणहरूले भने बमोजिमको खातामा डिपोजिट गर्नका लागि बैंकसम्म धिरज दिनेश भोईटेलाई पठाई मन्दिरा खड्का, उषा खत्री र रूपक भण्डारीले बैंकमा पैसा डिपोजिट गर्न लगाउने गरेको थिए भने बाँकी अन्दाजी ३०।४० करोड नेपाली रुपैयाँ मैले सिधै अवैध सुन खरिद कर्तालाई युएसडीटी भुक्तानी गरिदिने मिस्टर राइट, राधे राधे र सूर्य नारायणहरूले भने बमोजिमको खातामा डिपोजिट गराउन लगाएको थिए । सुन खरिद बिक्री गर्ने तथा रकम लेनादेना गर्ने सबै मानिसलाई मैले नचिन्ने पनि भएकोले भिनाजुले नेपाली रु.५, रु.१० को नोटको नम्बर पठाउने र सो नम्बर चेक गरी ती व्यक्तिहरूलाई सुन खरिद बिक्री गर्ने तथा पैसा लेनादेना गर्ने गरेको थिए ।

– राधे राधे भन्ने व्यक्तिसँग मेरो युएसडीटी खरिदका लागि ह्वाट्सएप मार्फत कुरा हुने गरेको थियो । निजको ह्वाट्सएप नम्बर मलाई मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले दिनु भएको थियो । निजलाई हालसम्म मैले भेटेको छैन । उक्त पेवेल को एकाउन्ट नम्बरको फोटो मलाई निज राधे राधेले पठाएको हो । मलाई निजले युएसडीटी दिए बापतको नगद पैसा मैले सोही पेवेल नेपाल प्रालिको खातामा नगद पैसा डिपोजिट गरिदिने गरेको थिए । रकम जम्मा गर्ने खाता नम्बर र खातावालाको नाम मलाई अवैध सुन खरिद गर्दाको रकम भुक्तानी गर्नको लागि राधे राधेले पठाउने गर्दथे भने सोही खातावालाहरूको खातामा मैले युएसडीटी दिए बापतको पैसा डिपोजिट गरिदिने र यकिन गर्नका लागि निजलाई पैसा पठाई सकेको जानकारी गराउँदथे ।

– एपी नाम गरेको व्यक्तिको वास्तविक नाम मलाई थाहा छैन । एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले मेरो ह्वाट्सएप चलाउने गरेका थिए । सोही ह्वाट्सएप बाट निज एलकेजी टुले एपीसँग कुरा गरेकाले अवैध सुन खरिद बिक्री गर्ने क्रममा सो म्यासेजहरू आदानप्रदान भएको हुनु पर्छ । निज उषा निरौला, खत्री हाम्रो पैसा डिपोजिट गरिदिने व्यक्ति हुन् । निज कमल नाम गरेको सुनचाँदी व्यवसायीको पसलमा पनि काम गर्ने गरेकी थिइन् । रेट भनेर अवैध सुनको रेट सोधेकी हुन् । के के सर भनेको कमलकान्त नाम गरेको न्युरोडमा सुनचाँदी कारोबार गर्ने एक व्यवसायी हुन् । हामी बीचमा भएका म्यासेजहरू अवैध सुन कारोबारको हो । एसएमएमको वास्तविक नाम मलाई थाहा छैन । निज एसएमएमसँग मैले अवैध सुन किन्ने गरेको थिए । मैले हालसम्म निजसँग अन्दाजी २० किलो अवैध सुन खरिद गरेको छु । डीटी भनेको युएसडीटी हो र टु पिसिएस भनेर २ किलो सुन भनेको हो । रेट भन्नाले अवैध सुनको बजार भाउ कति हो भनी सोधेको हुँ । निज असीम भन्ने व्यक्तिको वास्तविक नाम असीम बङ्गाली हो । निजलाई मैले पटकपटक गरेर हालसम्म अन्दाजी ६०० ग्राम अवैध सुन बेचेको छु । निजले दुई सय ग्राम, ५२ ग्राम, ४० ग्राम भनेर अवैध सुनको तौल भनेका हुन् ।

– मैले निजलाई पठाएको बैंक खाता नम्बरहरू युएसडीटी गर्ने राधे राधे, सूर्य नारायणहरूले मलाई पठाएको बैंक खाताहरू हुन् । निज असीमले किनेको अवैध सुनको पैसा मैले भने बमोजिमको खातामा तोकिएको पैसा डिपोजिट गर्न लगाउने गरेको थिए । निज रूपक दाइ भन्ने व्यक्तिको वास्तविक नाम रूपक भण्डारी हो । तपन भनेको हाम्रो सुन रिफाइन गर्ने पसलको माथिल्लो तलामा सुनको गहना बनाउने दाइ हो । मोटे दाइ भनेको ह्वाट्सएप मा एसएमएम नाम रहेको मलाई अवैध सुन दिने व्यक्ति हुन् । निज रूपक भण्डारीलाई मैले नै सुन लिनलाई मुग्लिङ पठाएको थिए । निजलाई उक्त काम गरे बापत नेपाली रूपैया ५,००० पैसा दिएको थिए । निज रूपकले मैले भने बमोजिमको खाताहरूमा बैंकमा गई पैसा डिपोजिट गरिदिने गरेका थिए । सो बैंकमा पैसा डिपोजिट गरे बापत निजलाई मैले नेपाली रूपैया ५००, १,००० का दरले पैसा दिने गरेको थिए । निज भि एम बोश भन्ने व्यक्ति मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिक हुन् । निजलाई मैले अवैध सुन कारोबारको सम्पूर्ण खबरहरू दिने गरेको थिए । मैले निज एलकेजी टु लाई युएसडीटी खरिदका लागि राधे राधेले पठाएको सम्पूर्ण खाताहरूको विवरण पठाएको थिए । एसजे, जीटी, एजे भनेको व्यक्तिहरूको नाम हो । आर वान, आर टु, आर थ्री भन्ने समेतका नम्बरहरू पसलमा राखिएको रेकर्ड हो । जीटी भनेको न्युरोडमा सुनको गहना बनाउने बङ्गाली हुन् । ५०० ग्राम भनेको सुनको तौल हो । आरडीजे भन्ने मलाई युएसडीटी दिने मानिस हुन् । निजको वास्तविक नाम मलाई थाहा छैन । निज हाम्रो सुन रिफाइन गर्ने पसलमा नै आएर नगदै पैसा लिई गई मलाई युएसडीटी दिने गरेका थिए । मन्दिरा खड्का भन्ने व्यक्ति मेरा भिनाजु अभिजित तानाजी मुलिकले मासिक १२ हजार तलब दिई पैसा डिपोजिट गर्ने काम गर्ने पसलको स्टाफ हुन् । निजसँग विभिन्न व्यक्तिहरूको पैसा डिपोजिट गरिदिनको लागि म्यासेज तथा बैंक विवरण पठाएको हो । निज देव दाइ भन्ने व्यक्तिको वास्तविक नाम मलाई थाहा छैन । निजले मलाई युएसडीटी दिने गरेका थिए । निजसँग मेरो युएसडीटी खरिद गर्दा कुरा हुने गरेको थियो । निजले मेरो पसलमा आएर नगदै पैसा लिई जाने र मलाई युएसडीटी दिने गरेका थिए । निज डेभिल भन्ने व्यक्ति म सँगै पक्राउ परेका अर्का प्रतिवादी धिरज दिनेश भुईटे हुन् । निजले मलाई हरेक पटक हिसाबहरू ह्वाट्सएप मार्फत पठाउने गरेका थिए । सोही म्यासेजहरू मेरो मोबाइलमा रहेको हुनसक्छ । निज सन्दीप दाइको वास्तविक नाम सन्दीप हो । निजलाई मैले अवैध सुन बिक्री गर्ने गरेको थिए । निजलाई मैले सुन बिक्री गर्ने भएकाले ह्वाट्सएप मार्फत कुरा हुने गरेको थियो ।


– … भन्ने व्यक्ति कमलकान्त हुन् । निजले मसँग अवैध सुन खरिद गर्ने गरेका थिए । निज उषा खत्री काम गर्ने ज्वेलरी पसलका साहु हुन् । निजले मसँग अन्दाजी १ किलो अवैध सुन खरिद गरेका छन् । रेट भनेको अवैध सुनको बजार मूल्य भनेको हो । २०० ग्राम भनेको २०० ग्राम सुन भनेको हो । निज एनजे भन्ने व्यक्तिको वास्तविक नाम मलाई थाहा छैन । निजलाई मैले काठमाडौँ र मुग्लिङमा गरी २ पटक भेटेको छु । हालसम्म निजलाई १५–२० किलो अवैध सुन बिक्री गरेको छु । निजले सुन खरिद गरेपश्चात् उक्त सुनको भुक्तानी मैले युएसडीटीका लागि पठाएको खातामा पैसा डिपोजिट गरिदिई मलाई उक्त डिपोजिटको स्लिप मलाई पठाउने गरेका थिए । १८००–९९९९ भन्नाले अवैध सुन कारोबारको बजार भाउ हो । रेट भन्नाले सुनको भाउ भनेको हो । रूपक भनेको मैले माथि सवालजवाफमा भनेको मेरो साथी हो । एलकेजी भनेको लक्की ज्वेलर्सको म्यानेजर हुन् । निजको वास्तविक नाम मुकुन्द हो । निजले म सँग अवैध सुन खरिद गर्ने गरेका थिए । निजले हालसम्म मसँग १ किलो सुन खरिद गरेका छन् । कुमार दाइ भनेको निजको लक्की ज्वेलर्समा काम गर्ने व्यक्ति हुन् । २५० ग्राम भनेको सुनको तौल हो । निज एमजेएनके भन्ने व्यक्तिको वास्तविक नाम सूर्य नारायण हो । निजसँग मैले युएसडीटी खरिद गर्ने गरेको थिए । निजसँग मैले युएसडीटी खरिद गरी सोको भुक्तानी नगदै न्युरोड एरियामा गई दिने गरेको थिए भने कहिलेकाहीँ निजले भने बमोजिमको खातामा बैंक डिपोजिट गर्ने गरेको थिए । मिस्टर राइट भन्ने व्यक्तिको वास्तविक नाम मलाई थाहा छैन । निजले युएसडीटीको कारोबार गर्ने गर्दछन् ।
– मैले सुन रिफाइन गर्ने पसलमा भएको लक्की ज्वेलर्सको उक्त बिल प्याड एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले लक्की ज्वेलर्ससँग गरेको कारोबारको हो । यो कारोबार मुकुन्द भन्ने लक्की ज्वेलर्सका म्यानेजर र एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकबिचको भएकोले मलाई यस बारेमा जानकारी भएन ।


– म पेवेल नेपाल प्रालि तथा सजिलो पे पेमेण्ट सर्भिसेज प्रालिको एप प्रयोगकर्ता, मर्चेन्ट, एजेण्ट वा कर्मचारी केही पनि होईन । मलाई पेवेल नेपाल प्रालि तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको खातामा पैसा जम्मा गर्न पठाउँदा जम्मा गर्ने व्यक्तिले ‘रेमिटेन्स बाई एजेण्ट’ लेख्नु भनी एलकेजी टु भन्ने अभिजित तानाजी मुलिक र सम्बन्धित वालेटहरूको खाता नम्बर पठाउने राधे राधे भन्ने व्यक्तिले भनेका हुन् ।


– मैले उक्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको खातामा अवैध सुन खरिद गर्नका लागि आवश्यक युएसडीटी खरिद गर्न आवश्यक नेपाली रकम डिपोजिट गर्ने गरेको थिए । अवैध सुन नेपाली रकममा खरिद गर्न नमिल्ने भएकोले उक्त नेपाली रकमलाई युएसडीटीमा परिवर्तन गर्नका लागि राधे राधे र एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले भने बमोजिमको नेपाली रकम पेवेल नेपाल तथा सजिलो पे को खातामा डिपोजिट गर्न लगाउने गरेको थिए । उक्त डिपोजिट गरेको रकम समेत अवैध सुन बिक्रीबाट आर्जन गरेको रकम थियो ।


– अवैध सुनहरूमा सि.न. १२ देखि १९ सम्म लेखी राखेको फोटो, ब्रेक प्याडमा रहेको अवैध सुन प्रतिवादी कमलकान्त कुल्थिया (केएमएल) लाई तौल गरी ३४८.९८ र ३५०.६८ तौल लेखिएको फोटोहरूमा भएको अवैध सुन मैले देखेको छैन । मेरो भिनाजु प्रतिवादी एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले खिचेको हो । साथै कमलकान्त कुल्थिया (केके, केएमएल) लाई हामीहरूले अवैध सुन बिक्री गर्ने गरेका थियौँ । मैले कमलकान्त कुलथियालाई १०।१२ केजी जति अवैध सुन बिक्री गरेको थिए । मैले निजसँग कारोबार गर्नु पूर्व मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले अवैध सुनको कारोबार गर्दै आएका थिए । सोही क्रममा भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले निजलाई उक्त अवैध सुनको फोटोहरू पठाएको हुन सक्छ । सोही फोटोहरू हाल मैले प्रयोग गरेको मोबाइलमा देखिएको हुनसक्छ ।

– मैले प्रयोग गर्ने मोबाइलमा सुन तौल गरेको डिजिटल तराजु र पसलबाट बरामद भएको एउटै हो । उक्त डिजिटल तराजुमा लागेको गुलाबी रङले गर्दा सहजै चिन्न सकिन्छ । सो तराजुमा हामीहरूले बिक्री गर्न ल्याएको अवैध सुनको तौल गर्ने गरेका थियौँ । सो तौल गरेको फोटोमा भएको अवैध सुन एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले सञ्चालन गरेको म पक्राउ परेको रिफाइन गर्ने पसलबाट कारोबार भएको हो । सो सुन मैले तौल गरेको हो वा मेरो भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले गरेको हो । लामो समय भएकोले सो सम्बन्धमा मलाई याद भएन ।

– बरामद भएको मेरो मोबाइलमा भएका सुनका फोटोहरूमा भएको सुन हाम्रो रिफाइनरी पसलबाट बिक्री गरिएको अवैध सुन हो । उक्त फोटोमा भएको १ केजी सुनलाई अवैध सुन खरिद गर्ने व्यक्तिहरूले भने बमोजिमको तौलमा टुक्रा टुक्रा पारी बिक्री गर्नलाई तयार गरेको सुन हो । उक्त फोटोमा भएको दशवटा पीस भएको फोटोमा देखिएको अवैध सुन एक केजीको सुनलाई मैले नै गाले पगालेर बनाएको हो । भिनाजु एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले खिचेको फोटो हुनसक्छ ।

– ट्रान्सफर्मर कोरमा सि. नम्बर ३ मा ११०६.३, सि. नम्बर ४ मा १११९.३१ र १९ नम्बरमा १०९३.९९ लेखि स्टिकर टाँसेको अवस्थाको फोटोहरू मेरो साथबाट बरामद भएको शाओमी फोनमा रहेका फोटोहरू हुन । सो मोबाइल मैले प्रयोग गर्नु पूर्व प्रतिवादी एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले प्रयोग गर्ने हुँदा निजले खिचेको हुनसक्छ । सो फोटोहरूको बारेमा मलाई थाहा छैन । मलाई एलकेजी टु भन्ने अभिजित तानाजी मुलिकले सो शाओमी मोबाइल दिनु पूर्व सम्पूर्ण फोटोहरू डिलिट गरेर दिएका थिए । सोहीबाट उक्त फोटोहरू आएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?