काठमाडौं । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
किसानले खुला सीमापारिका बजारमा सहज रूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं २०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याउने निर्णय लिएको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायका अनुसार यस वर्षका लागि मल मौज्दात रहेको बताउँदै थप मल आयात हुने प्रतियामा रहेकाले अभाव नहुने जानकारी दिए । जैविक (कम्पोष्ट) मल ठुलो मात्रामा उत्पादन भएर सहज ढुवानी गर्नसके किसानले थप प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।
“सरकारी प्रयासमा एकपटक जैविक मल (भर्मिक कम्पोष्ट) उत्पादन र वितरणको प्रयास भएको थियो तर त्यो सफल भएन”, उपाध्यायले भने, “ठुलो मात्रामा नियमित माग हुने भएकाले निजी क्षेत्रबाट उत्पादन हुने जैविक मल प्रयोगमा आउनुलाई सकारात्मक मान्न सकिन्छ । किसानका मागका आधारमा यसको उत्पादन र ढुवानी भने भएको छैन ।”
कम्पनीका अनुसार मुलुकमा हाल २६ हजार मेट्रिक टन युरिया मल मौज्दात छ भने ३० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । डिएपी मल १२ हजार मेट्रिक टन मौज्दत रहेको जनाउँदै कम्पनीका सूचना अधिकारी उपाध्यायले थप ३५ हजार आयात गरिएको बताए । उनका अनुसार पोटास मल सात हजार मेट्रिक टन मौज्दात छ ।
कृषिप्रधान नेपालमा रासायनिक मलको बढ्दो मागका कारण बर्सेनि आयात बढाउनुपर्ने बाध्यता रहनुका साथै रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति खेर गइरहेको उनको भनाइ छ । वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन सुरु गरिएको उनले जानकारी दिए ।
धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित ‘आरोह फर्टिलाइजर्स प्रालि’ले किसानको जैविक मलको मागलाई ध्यानमा राखी गत आइतबारदेखि आफ्नो उत्पादनलाई बजारमा पठाउन थालेको छ ।
स्वदेशका अधिकांश कच्चा पदार्थको प्रयोगबाट जैविक दानेदार र तरल मल उत्पादन गरेको प्रालिका कार्यकारी अध्यक्ष शैलेन्द्रशम्शेर राणाले जानकारी दिए । उनका अनुसार कम्पनीले ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुरुप वातावरणमैत्री र माटोमा उर्वराशक्ति बढाउने मल बजारमा पठाउन थालेको हो ।
हिमाल, पहाड र तराई क्षेत्रका विभिन्न ठाउँका माटोको परीक्षणपछि उपयुक्त प्रमाणित भएसँगै मल बजार पठाउन थालिएको राणाले बताए । रासायनिक मलको जथाभाबी प्रयोगले जमिनको उर्वराशक्ति नष्ट हुने मात्र नभई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै मलमा हुने परनिर्भरतालाई घटाउन जैविक मल उत्पादन गरिएको उनको भनाइ छ ।
प्रालिका प्रबन्ध निर्देशक आङकामी लामाले उद्योगले कच्चा पदार्थ सहज उपलब्धता भएसँगै मलको मागलाई दृष्टिगत गरी वार्षिक रूपमा ३० हजार मेट्रिक टनसम्म जैविक मल उत्पादन गर्ने योजना बनाएको जानकारी दिए । उत्पादित जैविक मलको प्रयोगले जमिनको उर्वराशक्ति पाँच वर्षमा पुरानै अवस्थामा पुर्याउने, कृषि उत्पादन बढाउने र उत्पादित वस्तु सम्पूर्ण हिसाबले अर्ग्यानिक हुने उनले दाबी गरे ।
जैविक मलको प्रयोगले माटोमा पोषण तत्त्व बढाउनाका साथै माटोका प्राकृतिक गुण जोगाउन सहयोग पुग्ने प्रबन्ध निर्देशक लामाले बताए । उनका अनुसार कम्पनीले हाल छ किसिमका झोल मल, चार किसिमका दानेदार मल र दुई किसिमका जैविक किटनाशक औषधि उत्पादन गरिरहेको छ ।
कम्पनीका कार्यकारी निर्देशक सवार्थशम्शेर जबराले नेपाली कृषकले बालीनाली लगाउने मनसुनमा सधैँ रासायनिक महलको हाहाकार भोग्नुपरेको घटनालाई सम्बोधन गर्न आधुनिक प्रविधिबाट मुलुकको माटो र हावापानी सुहाउँदो बायो अर्ग्यानिक (जैविक) मल उत्पादनमा जोड दिइएको बताए ।
उनका अनुसार जैविक मलका लागि आवश्यक मुख्य कच्चा पदार्थ गाईवस्तुको गोबर भएकाले उद्योगले स्थानीय सङ्कलनका अतिरिक्त सिरहा, सर्लाही, महोत्तरीका साथै काभ्रे, भक्तपुर, काठमाडौँलगायत स्थानबाट गोबर सङ्कलन गर्दै आएको छ । जैविक मलका लागि गोबर बेचेर पशुपालक किसान पनि लाभान्वित भएका उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया