डीआईजी पोखरेलको नियति : दुई दिने एआईजी बन्न चाहे, दाग बोकेर निस्किने भए

लोकपथ
3.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस भएका नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल बढुवा नहुने करिब करिब निश्चित भएको छ । ३० वर्ष लामो प्रहरी जीवनको अन्तिम समय उनको लागि सुखद् हुने देखिँदैन । शक्तिकेन्द्र रिझाएर दुई दिनका लागि भएपनि एआईजी बन्न मरिहत्ते गरेको आरोप उनीमाथि जीवनभर लाग्ने छ । र, एउटा कहिले नमेटिने दाग बोकेर उनले प्रहरीको बर्दी फुकाल्दै छन् ।

शक्तिकेन्द्रको प्रयोग गरी दुई दिनका लागि भएपनि एआईजी बन्न खेल खेलेका डीआईजी पोखरेल अन्ततः आज बिहीबार राति १२ बजेदेखि डीआईजीबाटै अवकाशमा जाने भएका छन् । उनलाई बढुवा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नै भूमिका खेलेका थिए । उनकै दबाबमा बढुवा समितिले एआईजीको एउटा पनि दरबन्दी खाली नभएको अवस्थामा डेढ साताअघि नै पोखरेललाई बढुवा सिफारिस गरेको थियो । १८ गते राति १२ बजेदेखि रिक्त हुने एआईजी उमेशराज जोशीको ठाउँमा बढुवा हुने गरी १० असारमा नै बढुवा समितिले पोखरेलको नाम सिफारिस गरेको थियो ।

तर विकसित राजनीतिक घटनाक्रमका कारण पोखरेलको एआईजी बन्ने सपना तुहिने लगभग निश्चित छ । उनलाई जबर्जस्त एआईजीका लागि सिफारिस गर्न लगाउने गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेृतत्वको सरकार हिजोबाट अल्पमतमा परेकाले क्याविनेटमा यो प्रस्ताव लैजान सक्ने अवस्थामा छ्रैनन् । एआईजी बढुवा क्याविनेटबाट गर्नुपर्छ । अर्को कुरा, विषय जटिल राजनीतिक परिस्थितिमा आज नै क्याविनेट बस्छ भन्ने सम्भावना पनि न्यून छ ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

पोखरेलको बढुवाले न राज्यलाई न प्रहरी संगठनलाई नै कुनै लाभ पुग्थ्यो । न त जनताले नै उनीबाट कुनै लाभ लिन सक्ने थियो । तर पोखरेलका लागि भने केही फाइदा हुने थियो । एक त माथिल्लो पदबाट अवकाश पाउँदा अवकाशपछि उनको सेवा सुविधा (पेन्सन) बढ्थ्यो भने अर्कोतर्फ विशिष्ट श्रेणीबाट अवकाश हुँदा पछि संवैधानिक निकायमा समेत नियुक्ति सहज हुन्थ्यो ।
पोखरेल गृहमन्त्री लामिछानेका कानुन व्यवसायी सुशील पन्तका आफन्त (भान्जा) हुन् । त्यसैले लामिछानेले दुई दिनका लागि भएपनि उनलाई एआईजीमा सिफारिस गर्न लगाएका थिए ।

त्यसो त गृहमन्त्री लामिछानेले पोखरेललाई यसअघि वैशाखमै एआईजीमा बढुवाको प्रयास गरेका थिए । तर त्यसबेला सफल भएनन् । अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीमप्रसाद ढकालको नाममा अडान लिएपछि लामिछाने पछि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?