दोरम्बा अस्पतालको निर्माण अलपत्र

लोकपथ
91
Shares

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । अस्पताल भवनको निर्माण कार्य वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण कार्य अलपत्र हुँदा अस्पताल भवन निर्माणका लागि ल्याइएको फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्

१५ शय्याको अस्पताल भवन नबन्दा अस्थायी टहरामा सञ्चालन गरिएको छ । जसले गर्दा बिरामी र स्वास्थ्य प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले बताए । अस्पताल आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्म भ्याटसहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैँयामा काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । १८ करोड रुपैँयको काम ११ करोडमा गर्ने सम्झौता कम्पनीले गरेको थियो ।

निर्माण कम्पनीले २ करोड २६ लाख रुपैँया पेस्की र पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैँया भुक्तानी लिइसकेको छ । दोस्रो बिल ४६ लाख १३ हजार रुपैंया भुक्तानीको कागज बुझाएको भए पनि भुक्तानी भने लिएको छैन ।

निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा शैलुङ गाउँ कार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काममा कुनै प्रगति नभएपछि गाउँ कार्यपालिकाले २०८० असार २४ गते सम्मका लागि म्याद थप गरे पनि निर्माण कम्पनीले काम गरेन । अन्तिम पटक म्याद थप गरेको एक वर्ष बित्दा पनि कम्पनीले काम गरेको छैन । गाउँपालिकाले पनि कारबाहीको कुनै प्रक्रिया अघि बढाएको छैन ।

कम्पनीले सो स्थानका अधिकांश निर्माण सामग्री उठाएर अन्यत्रै लगेको छ । भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम भएको छैन । सो विषयमा जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी हाल्दा पनि काम अघि नबढेको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष समेत रहेका स्थानीय रत्नप्रसाद कँडेलले बताउँछन् । स्थानीय सरकार र प्रशासन मौन रहनुले नागरिकमा शंका पैदा भएको उनले बताए ।

भवन निर्माणको काममा व्यवसायीलाई ताकेता गर्ने कुरामा अहिले स्थानीय सरकाले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ स्थानीय सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको माग छ ।
अस्पतालको नाममा २७ रोपनी १२ आना जग्गा छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई पालिकास्तरको अस्पताल घोषणा गरिएको छ । तर भवन नै नभएपछि अस्पतालबाट दिने सेवा प्रवाह हुन सकेको छैन । सेवा नभएपछि स्थानीय उपचारको लागि काभ्रेको धुलिखेल र काठमाडौैं धाउनुपर्ने बाध्यता छ । गाउँको अस्पताल कहिले बन्ने हो ठेगान छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?