‘धामी झाँक्री’ हेर्न गएको समूहमाथि निर्घात कुटपिट हुँदा एकको मृत्यु, तीन घाइते

लोकपथ
2.5k
Shares

पाँचथर । चिन्ता (धामी/झाँक्री) हेर्न गएका एउटा समूहमाथि अर्को समूहले आक्रमण गर्दा पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालमा बिहीबार राति यो घटना भएको हो ।

घटनामा ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको छ भने पर्शु राई, ध्रुव राई र पुस्कर विक घाइते भएका छन् ।
गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी/झाँक्री) हेर्न गएका उनीहरुमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको प्रहरीले जनाएको छ । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको र उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानीटार र पौवासारतापबाट टोली परिचालन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?