बागमती प्रदेश सरकारबाट आजै बाहिरिने एमालेको तयारी, मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार संकटमा

लोकपथ
663
Shares

काठमाडौं । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । सुदूर पश्चिम र लुम्बिनी सरकारबाट अलग्गिसकेको नेकपा एमाले आज बागमती प्रदेश सरकारबाट पनि बाहिरिन लागेको छ । आज शुक्रबार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।

चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर चार महिनापछि नै एमाले माओवादी नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आज शुक्रबार साँझसम्म सरकारबाट बाहिरिने आफूहरूको तयारी रहेको बताए । ‘पार्टीको केन्द्रीय नीतिअनुसार हामीले सकेसम्म आज नै सरकारबाट बाहिरिने तयारी गरेका छौँ,’ उसनले भने ।

आफूहरू अहिले काठमाडौंमा रहेको र मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौं रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने उनले बताए ।त्यसो त मुख्यमन्त्री जम्कट्टेललाई काठमाडौंमै राजीनामा बुझाउने विषयमा एमालेका मन्त्रीहरुको कुरा पनि भएको थियो । तर, मुख्यमन्त्रीकै कार्यालयमा आएर प्रक्रिया पूरा गर्न जम्कट्टेलले अनुरोध गरेपछि हेटौंडा जाने तयारीमा आफूहरु रहेको थपलियाले बताए ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।
केन्द्रको सत्तामा एमाले–कांग्रेस सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउने सहमति भएको छ । संघीयता कार्यान्वयनपछि बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउन लागेको हो । ७ वर्षदेखि अधिक समय प्रमुख प्रतिपक्ष रहेको कांग्रेस विगत ३ वर्ष सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन ।

२०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाएका थिए । सो समयमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा फर्कियो ।

यता नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो । एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सो लगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास सफल भएन । अन्ततः पुनः माओवादी केन्द्रकै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो ।

कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको छ । संघीयता कार्यान्वयनपछि भएका २ वटा निर्वाचनपश्चात्का अधिकांश समय कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामै रहँदै आएको छ ।हालसम्मको २ कार्यकालको ७ वर्षमा कांग्रेस २६ महिना सरकारमा रहेको थियो । उक्त समय बाहेक अधिकांश समय प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्दै आएको छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । बागमती प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । पछिल्लो समीकरण अनुसार एमाले–कांग्रेस गठबन्धनको स्पष्ट बहुमत हुने देखिन्छ । एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन्, जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।

एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल नयाँ समीकरण निर्माण भएसँगै अल्पमतमा परेका छन् । हाल सरकारको नेतृत्व गरिरहेका माओवादी नेता जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि चैत १० मा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि २०८० चैत १९ मा तेस्रोपटक विश्वासको मत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?