ललितपुरमा भारतीय नागरिक बस्दै आएको घरमा प्रहरीको छापा, सुन गाल्ने मेसिन र ५० लाख बरामद

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रहरीले भारतीय नागरिक बस्दै आएको ललितपुरको एक घरमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाख रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोली ‘एक्सन’ मा गएको थियो । सो क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर भारतको महाराष्ट्र आडवारी थाना घर भई ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुतेको फ्ल्याटमा छापा मारेको थियो । सो क्रममा ५० लाख नगदसहित सुनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो क्रममा भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनारलाई पक्राउ गरेको हो । उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?