१७ हजार घुस लिने इन्जिनियर र दुई सव–इन्जिनियरविरुद्ध मुद्दा दायर

लोकपथ
299
Shares

काठमाडौं । १७ हजार रुपैयाँ घुस लिएका इन्जिनियर र दुई सव इन्जिनियरविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रवार विशेष अदालतमा घुस रकमसहित पक्राउ परेका दुई सव–इन्जिनियर र संलग्नता पाइएका इन्जिनियरविरुद्ध समेत भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गत जेठ १८ गते सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्यालको बयानका आधारमा घुस लेनदेनमा संलग्न इन्जिनियर राजीव बस्नेत समेतलाई विपक्षी बनाई मुद्दा दायर भएको हो ।

 
पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्यालले निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले गत जेठ १८ गते उनीहरूलाई घुसबापत १७ हजार रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा रहेको इकाई कार्यालयको कार्यकक्षबाटै उनीहरूलाई नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घुस रकम लेनदेनमा कार्यालयका इन्जिनियर राजीव बस्नेतको समेत संलग्नता भेटिएपछि बस्नेतलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।


अनुसन्धानपश्चात् शुक्रवार पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेत, सव–इञ्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्याल समेतको मिलेमतोमा निर्माण सम्पन्न पश्चात् ठेक्का बापतको रकम प्राप्तिको लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिन लगाएको र लिएको पुष्टि भएको भन्दै मुद्दा दायर गरेको हो ।


उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरी घुसबापत प्राप्त गरेको र बरामद गरेको १७ हजार रुपैयाँ नै बिगो कायम गरी जरिवाना र सजायसमेतको मागदाबी लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?