महाभारतमा उत्पादित कफी जापान निर्यात

लोकपथ
35
Shares

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । यो साता कफी किसानलाई ८० पल्पर मेसिन, एक सय कफीराख्ने जाली, एक सय किसानलाई पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताए । “आधुनिक सामग्रीले कफी खेती तथा उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ”, उनले भने । केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय किसानलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ / ८ मा नर्सरी स्थापना गरिएको छ । गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारिमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिए ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताए । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उनको भनाइ छ ।

पालिकाबाट बर्सेनि पाँचदेखि १२ लाखसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताए । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?