अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

लोकपथ
77
Shares

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुर्‍याउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । उनले भने, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।

वार्षिक शुल्कबापत जनही सात सयका दरले बीमा रकम तिरेपछि र एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ । ‘क’ वर्ग र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् ।

घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?